बदलिँदो आर्थिक र औद्योगिक परिवेशका कारण श्रम तथा रोजगारी क्षेत्र व्यापक संकटमा रहेको श्रमिक नेताहरुले बताएका छन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको ‘बदलिँदो परिवेशमा श्रम, रोजगारीका विषयहरू र आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा उहाँहरुले पछिल्लो समय श्रमिकहरु समस्यामा परेको बताउनुभएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपालको जेन–जी आन्दोलनले श्रमिकहरुलाई झनै ठुलो समस्यामा पारेको बताउनु भयो ।
उहाँले पछिल्लो समय पर्यटन क्षेत्र र औद्योगिक उत्पादन ध्वस्त भएकोले श्रमिकको जीवनस्तर भयावह बन्दै गएको जानकारी दिनुभयो । पछिल्लो परिवर्तनले राम्रो गर्न सकिने अपेक्षा रहेपनि श्रम क्षेत्रमा सबैभन्दा ठूलो असर परेको उहाँको भनाई छ । उहाँले न्युनतम ज्याला कार्यन्वयन हुन नसक्दा पनि श्रमिकहरु समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले हालै नर्सहरू समेत न्युनतम ज्याला कार्यन्वयन गर्नको लागी आन्दोलन गर्नु परेको स्मरण गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले नेपालको सामाजिक सुरक्षा कोषमा संसारको सबैभन्दा राम्रो भएपनि औपचारिक क्षेत्रका मजदुर कोषमा न्युन सहभागी भएको बताउनु भयो । उहाँले २६ लाख श्रमिक सामाजिक सुरक्षाकोषमा आवद्ध भएपनि औपचारिक क्षेत्रका श्रमिक ६ लाख मात्रै आवद्द भएको उल्लेख गर्नुभयो ।
नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपाल लगायत विश्वको श्रम बजारलाई नै अस्थिर बनाउने प्रमुख कारण अनौपचारिक क्षेत्रको बृद्धि भएको बताउनु भयो । उहाँकाअनुसार हाल ८५ प्रतिश भन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा रहेका छन् । यसले मर्यादित कामको अवधारणालाई कमजोर बनाइरहेको उहाँको भनाई छ । बेरोजगारी र वैदेशिक रोजगारको दबाबले पनि मर्यापदत कामको लागि चुनौती थपिएको उहाँले बताउनु भयो ।
उहाँले न्युनतम ज्याला कार्यान्वयन अहिलेको सबैभन्दा ठुलो समस्या रहेको बताउनुभयो । न्युनतम ज्याला लागू नभई सामाजिक सुरक्षा कार्यान्वयन सम्भव नरहेको उहाँले स्पष्ट पार्नुभयो । पछिल्लो समय उद्योग–व्यवसायमा देखिएको संकटले पनि रोजगारीका अवसर घट्दै गएकोले मर्यादित कामको आधार कमजोर बनिरहेको उहाँले बताउनु भयो ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) बुधवार “बदलिँदो परिवेशमा श्रम, रोजगारीका विषयहरू र आगामी कार्यदिशा” विषयक उच्चस्तरीय संवाद कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विश्लेषक डा. हरी शर्माले वर्तमान परिवेशमा जेटियूसीसीको भुमिका र आगामी निति र नारायण भट्टराईले मर्यादित काम, ज्याला र सामाजिक सुरक्षाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले श्रम क्षेत्रमा देखिएको अव्यवस्था, न्युनतम ज्याला कार्यान्वयन नहुनु, अनौपचारिकीकरणको तिब्रता र सामाजिक सुरक्षा कोषको कमजोर सहभागिता यस क्षेत्रका प्रमुख चुनौती रहेको औँल्याएका छन् ।






