प्याब्सन स्पोट्र्स मिट–२०८२ बिर्तामोडमा शुरु, ३१ विद्यालयको सहभागिता


२९ कार्तिक २०८२, शुक्रबार २१:०६ मा प्रकाशित

झापा । निजी तथा आवासीय विद्यालय संगठन—प्याब्सन झापा शाखा अन्तर्गत बिर्तामोड नगर समितिले आयोजना गरेको प्याब्सन स्पोट्र्स मिट– आजबाट सुरु भएको छ ।

यस वर्षको स्पोट्र्स मिटमा ३१ वटा निजी तथा आवासीय विद्यालयले सहभागिता जनाएका छन् । ४.९ फिट उमेर समुहका छात्रहरुको फुटबल खेलको उद्घाटन कार्यक्रम आज बिहान बिर्तामोड स्थित प्रशान्ति एजुकेशन पलाउन्डेसनको खेल मैदानमा भएको थियो भने अन्य विधाका खेलहरु पनि आजै अन्य विद्यालयका खेल मैदानमा एकैसाथ उद्घाटन भएको थियो ।

उद्घाटन सत्रमा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । कार्यक्रमका खेल संयोजक तथा नगर प्याब्सन सदस्य रहमद अन्सरीका अनुसार स्पोट्र्स मिटबाट विद्यार्थीहरूको शारीरिक, मानसिक र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

उहाँले प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, लगायतका विभिन्न खेल विधाहरू समावेश गरिएको बताउनुभयो । सबै खेलहरू व्यवस्थित ढंगले सञ्चालन गर्न आवश्यक प्राविधिक तथा जनशक्तिको तयारी पूरा गरिएको आयोजक समितिले जनाएको छ ।

स्पोट्र्स मिट भोलीसम्म निरन्तर सञ्चालन हुनेछ भने समग्र प्रतियोगिता मंसिर १ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समापन समारोहमा उत्कृष्ट खेलाडी तथा विद्यालयहरूलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्याब्सन नेपालका निजी तथा आवासीय विद्यालयहरूको प्रमुख छाता संस्था हो । छात्र–छात्राको गुणस्तरीय शिक्षासँगै सह–पाठ्यक्रम र खेलकुद क्रियाकलापलाई प्रोत्साहन गर्न प्याब्सनले हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here