काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ ।
हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो ।
यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उहाँले बताउनु भयो । यसको प्रभाव वागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने सम्भावना रहेको उहाँको भनाई छ ।
उहाँकाअनुसार चक्रवातको प्रभाव बिहीवार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिवारदिउँसो) सम्म रहने पूर्वानुमान छ । उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले हाल ठूला नदीहरूको वहाव सामान्य अवस्थामा भएपनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताउनु भयो । वागमती र कोशीजस्ता ठूला नदीमा ठूला बाढी आउने जोखिम रहेको उहाँको भनाई छ ।
यद्यपि नदी सतह शतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई शतर्क रहन उहाँले आग्रह गर्नुभयो । उहाँले मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालामा भने तिब्र बहावको सम्भावना रहेको बताउनु भयो । १३ गते रातिदेखि १५ गतेसम्म उच्च शतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
जल तथा मौसम विभाग प्रवक्ता विभूति पोखरेलले मंगलवार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । हिमपातको कारण पर्वतारोहण तथा दैनिक जनजीवनमा पनि असर गर्ने उहाँको भनाई छ ।
उहाँले पश्चिमी वायु साथै अरब सागरमा बनेको न्युनचापीय प्रणालीको प्रभावले गर्दा मंगलवारको बदली देखिएको बताउनु भयो । बुधवारदेखि विस्तारै यो सुधार हुँदै आउने उहाँको भनाई छ । विहीवारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकोले नेपालको मौसम प्रभावित हुने उहाँले जानकारी दिनुभयो ।






