काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएन)ले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरिदिएको छ ।
जेन–जी आन्दोलनले ध्वस्त बनाएको सो कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलार एक कार्यक्रमका बीच एनआरएनएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो ।
काठमाडौंको रामशाह पथमा रहेको सो ट्राफिक कन्ट्रोल रुम जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको थियो । विपद्मा परेका बेला मात्रृभूमिलाई सहयोग गर्नुपर्ने दायित्व अन्तरगत सो कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिएको एनआरएनएका उपाध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले सो रुम दीर्घकालसम्म सञ्चालनमा आउने गरी पुनर्निर्माणको काम गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सो रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिदिएकोमा गैरआवासीय नेपाली संघप्रति आभार व्यक्त गर्नुभयो । उहाँले मातृभूमिप्रतिको मायाको रुपमा सो काम भएको समेत उल्लेख गर्नुभयो ।
सो कन्ट्रोल रुमबाट काठमाडांै, ललितपुर र भक्तपुर काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको ट्राफिक व्यवस्थापनको काम हुने गर्दछ । त्यसको पुनर्निर्माण कार्यले ट्राफिक व्यवस्थापनको काममा धेरै ठूलो सहजता प्राप्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।






