काठमाडौं । उज्यालो पर्व दीपावलीले अर्थतन्त्र पनि चलायमान बनाएको छ । उपभोक्ताले थरीथरीका झिलिमिली बत्तिहरु किन्दा ठूलो रकम बजारमा पुग्ने गरेको छ भने यसले अर्थतन्त्रलाई चलायमान बनाउन सघाउ पुगेको हो । व्यवसायीहरुकाअनुसार अहिले विभिन्न थरीका झिलिमिलि बत्तीहरु किन्न बजारमा उपभोक्ताको घुँइचो लागेको छ ।
ती बत्तीहरु नेपालमा बनेका भने होइनन् । खासगरी चीनबाट बढी आइरहेका त्यस्ता झिलीमिली बत्तिहरुले बजार हिस्सा बढी ओगटेका छन् । तिनै बत्तीहरुमा उपभोक्ता झुम्मिरहेका छन् । उज्यालोको पर्व दीपावलीमा करिव ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती विक्री हुने व्यवसायीहरुको भनाइ छ ।
नेपाल विद्युत्तीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले यस वर्षको तिहारमा पनि बत्तीको कारोबार राम्रै देखिएको बताउनु भयो । यद्यपी विगतका वर्षहरुको तुलनामा बत्तीहरुको व्यापार केही घट्नसक्ने उहाँको भनाइ छ । घर निर्माणहरु कम हुँदै गएको र एकपटक किनेको बत्ती पुनः प्रयोग गर्न मिल्ने भएकाले पनि कारोबारमा केही घट्ने अनुमान गरिएको छ ।
बजारमा झिलिमिली बत्तीहरू फरक–फरक मूल्यमा उपलब्ध छन् । न्युनतम प्रतिगोटा डेढ सयदेखि २० हजार रुपैयाँसम्म पर्ने बत्तीहरू तिहारका लागि आयात हुन्छन् । विभिन्न रङमा बल्ने–निभ्ने यस्ता बत्ती उपभोक्ताले घर, बगैंचा, कार्यालय, बिजनेस मल लगायतको सजावटका लागि अत्यधिक प्रयोग गर्छन् ।
उहाँका अनुसार खासगरी तिहार सकिने बित्तीकै छठ पर्व शुरू हुने भएकाले व्यवसायीहरुले सो समयसम्मका लागि धान्ने गरी बत्ती आयात हुने गरेको छ । अहिले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका सहरमा यस्ता बत्तीको माग बढ्दै गएको छ ।
उहाँकाअनुसार त्यस्ता सामान आपूर्ति प्रायः चीनबाट सामान ल्याउने गरिएको थियो । तर रसुवा र तातोपानी नाकामा बारम्बार बाटो बिग्रिने समस्या हुँदा यस वर्ष पनि केही असहजता भोग्नुप¥यो । जसकारण धेरै व्यवसायीहरूले वैकल्पिक रूपमा कलकत्ता, बीरगंज, विराटनगर, भैरहवा, र नेपालगंज हुँदै सामान ल्याएका छन् । यसरी ल्याउँदा ढुवानी खर्च केही बढ्यो तर समयमै सामान बजारमा पुग्ने भएकाले व्यवसायीहरूलाई सहज भएको छ ।
गत वर्ष तिहारमा मगाएका समान तिहारपछि मात्र आइपुगेका थिए । जसले गर्दा व्यापारीहरूलाई ठूलो क्षति भएको थियो । गोदाम भाडा, ब्याज, र अन्य खर्चहरू तिर्नुपर्ने स्थिति आएको थियो । यस्तै कठिनाइहरू यसपटक दोहोरिन नदिन व्यवसायीहरूले वैकल्पिक आपूर्ति मार्ग अपनाएको उहाँको भनाइ छ ।
सापकोटाकाअनुसार अहिले नयाँ डिजाइनका ‘वाटरफल’ लाइटहरूले बजार लिएका छन् । यी लाइटहरू सामाजिक सञ्जाल, जस्तै टिकटक र फेसबुकमा धेरै देखिन थालेका कारणले ग्राहकहरू तिर झन् आकर्षित भएका छन् । यो लाइट सजिलै जडान गर्न सकिने भएकाले इलेक्ट्रिसियनको सहयोग नचाहिँदा घरधनीले आफैँले पनि सजाउन सक्छन् । बगिरहेको जस्तो झरना–शैलीको प्रकाश देखिने भएकाले घरमा निकै सुन्दर देखिने गरेको छ ।
नेपाल विद्युत्तीय व्यवसायी महासंघका अध्यक्ष सापकोटले हाल बजारमा माग अनुसार पर्याप्त सामान उपलब्ध रहेको जानकारी दिनुभयो । ‘कहिलेकाहीँ केही एक–दुई आइटममा अभाव देखिए पनि त्यसका विकल्प धेरै छन् । ग्राहकले यदि एउटा आइटम नपाए पनि हामी त्यसको विकल्प तुरुन्त उपलब्ध गराउन सक्छौँ । अहिले शहरी क्षेत्रमा चार–पाँच तल्लासम्मका घरहरूमा झिलीमिली लाइटहरूको माग बढी छ भने ग्रामीण क्षेत्रमा दुई–साढे दुई तल्लासम्मका घरका लागि छोटा र मध्यम लम्बाइका लाइटहरू बढी विक्री भइरहेका छन्,’ उहाँले भन्नुभयो ।
यस्तै काठमाडौं विद्युत व्यवसायी संघका अध्यक्ष मिलन शिवाकोटीले पनि विगतका वर्षको तुलनामा यो वर्ष झिलिमिली बत्तिको बिक्री सन्तोषजनक नरहेको बताउनुभयो । उहाँका अनुसार अनुसार कोभिडपछिदेखि विद्युत् व्यवसाय निरन्तर घट्दो क्रममा छ ।
निर्माण कार्यमा आएको सुस्ती र देशको राजनीतिक अनिश्चितताले बजारमा नकारात्मक असर पारेको छ । उहाँका अनुसार २०७६÷७७ सालदेखि सुरु भएको घट्दो व्यापार अहिले सम्म आइपुग्दा करिव १५ देखि २० प्रतिशतले घटेको छ । अहिले बजारमा भीडभाड देखिए पनि बिक्री अपेक्षाअनुसार बढ्न सकेको छैन ।






