विद्युत वक्यौता उठाउन प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी, हितेन्द्र भन्छन्–उर्जामन्त्रीको निर्णय मान्छु


५ आश्विन २०८२, आईतवार १३:३१ मा प्रकाशित


काठमाडौं ।
अर्बौं बाँकी विद्युत वक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको छ ।


कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत वक्यौता उठाउनेसम्बन्धि पहिलो निर्णय गर्नुभएको थियो । सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनु भयो ।

उहाँकाअनुसार सोमवार/मंगलवार नै बैठक बसेर बिजुली वक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । सोहीअनुसार कार्यान्वयनमा लगिनेछ । शाक्यले सरकारको निर्णय मानेरै वक्यौता उठाउन लाग्ने समेत बताउनुभएको छ । 


बोर्ड बैठकबाट निर्णय भएपछि वक्यौता उठाउन कुनै समस्या नभएको समेत बताउनु भयो ।  कुलनमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत वक्यौता उठाउन भनेर वक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आउनुभएको थियो । तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली भएका बेला पनि बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिनुभएको थियो ।


नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ । प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ ।


उद्योगीलाई लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत प्रयोग दिइएको थियो । तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उद्योगीले नतिर्ने बताउँदै आएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here