काठमाडौं । नेपालको राजनीतिक इतिहास लामो संघर्ष, विद्रोह र उतार–चढावको श्रृंखलाले भरिएको छ ।
२००७ साल यताका प्रजातान्त्रिक आन्दोलन, पञ्चायती व्यवस्था, जनआन्दोलन, जनयुद्ध र २०६२/२०६३ को जनआन्दोलनले पटक पटक नयाँ व्यवस्था जन्मायो । अन्ततः वि.स.२०६२/६३ को जनआन्दोलनले मुलुकमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरियो ।
मुलुकमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा हुँदा समेत राजनीतिले संस्थागत आकार लिन सकेन । जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले समेतम मुलुकमा समावेशी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्न सकेनन् ।
त्यसैको परिणाम हो गत भदौ २३ र २४ मा भएको जेन–जी पुस्ताको आन्दोलन । जेन–जी आन्दोलनलाई विश्लेषकहरूले भ्रष्टाचार, असमानता र बेरोजगारीका कारण उत्पन्न भएको विश्लेषण गरिरहेका छन् । जनतामा शासकप्रति बढ्दै गएको वितृष्णा र आक्रोशका बीच नवयुवाहरुले चलाएको अभियानले समाजका सबै पक्ष र वर्गलाई आकर्षित गरेको कारण जेन–जी आन्दोलन सफल भएको राजनैतिक विश्लेषक रमेश अधिकारीको भनाइ छ ।
अधिकारीले उक्त आन्दोलन अप्रत्याशित भएपनि मुलुकको शासन प्रणालीको परिवर्तनको लागि आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको प्रतिवेदन र तथ्यांकले नेपाल भ्रष्टाचारको उर्वर भूमि बनेको देखाएको उल्लेख गर्दै यसको अन्त्य गर्न जेन–जी आन्दोलन कोशेढुंगा सावित हुने बताउनु भयो । उहाँले जेन–जी आन्दोलन हुनुका मुख्य कारणहरु भ्रष्टाचार, बेरोजगारी र असमानता रहेको बताउनु भयो ।
उहाँले हुने खाने र नहुनेबीचको खाडल र असमानताले समाजमा सिर्जना गरेको विभेदले नै युवाहरुलाई सडकमा आउन बाध्य पारेको बताउनु भयो । समाजका सबै तह र तप्काबीच विचार आदान प्रदान गर्ने मुख्य आधार रहेको सामाजिक सञ्जाल बन्द गर्ने तत्कालीन सरकारको निर्णय आन्दोलनको उत्प्रेरक भएको उहाँको तर्क छ ।
जेन–जी पुस्ताको आन्दोलनपश्चात मुलुकमा व्यवस्था नै परिवर्तन भएको भाष्य निर्माण गरिएको उल्लेख गर्दै उहाँले यसलाई खारेज गर्नुभयो । नेपालको संविधान, २०७२ मै टेकेर अन्तरिम सरकार गठनदेखि प्रतिनिधि सभा विघटनसम्म भएको उल्लेख गर्दै उहाँले अहिले मुलुकको अवस्था परिवर्तनको दिशामा अघि बढेको दाबी पनि गर्नुभयो । जेन–जी आन्दोलनको एजेण्डा व्यवस्था परिवर्तन गर्ने नभएकोले गलत भाष्य स्थापित नगर्न सबैमा आग्रह गर्नुभयो ।
जेन–जी पुस्ताको आन्दोलन पश्चात विकसित घटनाक्रमहरुलाई छिमेकी राष्ट्रहरुले सकारात्मक रुपमा लिनु महत्वपूर्ण भएको पनि बताउनु भयो । नेपाल भूराजनीतिक केन्द्रबिन्दु भएको कारण विदेशी शक्तिको हस्तक्षेप हुनसक्ने परिस्थिति तत्कालको टरेको उहाँको बुझाई छ । उहाँले नेपालको अगामी निर्वाचन सम्पन्न गराउनेदेखि लोकतन्त्रलाई सुदृढिकरण गर्ने छिमेकी राष्ट्रहरुको प्रतिवद्धताले नेपाललाई लयमा फर्काउने विषयमा सहयोग हुने आशा गर्न सकिने बताउनु भयो ।
जेन–जी पुस्ताको शान्तीपूर्ण आन्दोलन हिंश्रक बन्दा ठूलो मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ । हालसम्म ७४ जनाको मृत्यु भएको छ भने संयौं अझै उपचाररत छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।






