काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनाआवश्यक ढंगले उचालिएको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो विषयमा महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताउनु भयो ।
उहाँले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषयमा कमिटीगत छलफलको विषय भएकाले सोही ठाउँमा सो विषयसँग छलफल हुने बताउनु भयो । पार्टीमा कतिपय कुराहरु अनाआवश्यक ढंगले अघि बढाउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने स्पष्ट पार्नुभयो । उहाले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा छलफल केन्द्रित हुने पनि बताउनु भयो ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रश्ताव र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले सोही कार्यसूचिमा केन्द्रित भएर विधान महाधिवेशनमा छलफल हुने बताउनु भयो ।






