काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १३ महिनासम्म पैरवी गर्दासमेत स्वास्थ्य जनशक्ति बढाउन नसकेको बताउनुभएको छ ।
काठमाडौंमा नेपाल औषधि उत्पादक संघको ३१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले २०४८ सालपछि नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीहरुको जनशक्ति उल्लेख्य बढेको भएपनि स्वास्थ्य जनशक्ति बढाउन नसकेको बताउनु भयो ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवको पालापछि अहिलेसम्म स्वास्थ्य जनशक्ति बढ्न नसकेको उहाँको भनाइ छ । डाक्टरहरु रहेको भएपनि आवश्यकता हुँदा पनि उनीहरुलाई काममा लगाउन नसकिएको बताउनु भयो ।
सरकारले छात्रावृत्तिमा पढाउने, योग्य बनाउने तर आवश्यक पर्दा काममा राख्न नसक्ने स्थिति रहेको उहाँको गुनासो छ । नेपाल दक्ष बनाएर जनशक्ति विदेश पठाउने देश भएको जिकिर गर्नुभयो ।
मन्त्री पौडेलले औषधिको मूल्य निर्धारण हुनुपर्ने बताउनु भयो । स्वास्थ्य क्षेत्रको सुधारका लागि औषधि सुशासन अनिवार्य रहेको बताउनु भयो । सरकारले बीमा प्रणालीलाई व्यवस्थित बनाउन चाहेको पनि बताउनु भयो । राजनीतिप्रतिको अविश्वास डेलिभर हुन नसकेर पैदा भएको बताउनु भयो ।






