‘मेरो डान्स युनिभर्स’ को फाइनलमा सहभागि हुन निदि माविका विद्यार्थी काठमाण्डौं प्रस्थान


१४ श्रावण २०८२, मंगलवार २२:२९ मा प्रकाशित

झापा ।  इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना हुँदै आएको  राष्ट्रियस्तरको ‘मेरो डान्स युनिभर्स’को दोस्रो  प्रतियोगिताको बिर्तामोड अडिसनमा सफल भएको  बिर्तामोड–२ स्थित निदि माध्यमिक विद्यालयका विद्यार्थी फाइनल राउण्डमा सहभागि हुन काठमाण्र्डौ प्रस्थान गरेका छन् । 

फाइनल चरणकालागि कक्षा ११ र १२ मा अध्ययनरत ३४ जना विद्यार्थीहरू आज  काठमाडौँ प्रस्थान गरेका हुन् । उनीहरुलाई एक कार्यक्रमकाबिच विद्यालयले बिदाई गरेको छ । 

बिदाई भएर गएका विद्यार्थीहरूको समुहले  प्रतियोगिताको सामूहिक लोक नृत्यतर्फ प्रतिस्पर्धा गर्नेछ ।  उनीहरूले राजवंशी–कोच समुदायको मौलिक लोकनृत्य ‘ढोल साहेना’ प्रस्तुत गर्नेछन्, जसले पूर्वी तराईको भाषिक, सांस्कृतिक र जातीय विविधतालाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने विश्वास गरिएको छ।

प्रतियोगितामा देशभरिबाट ३२ वटा समूहले सहभागिता जनाउँदैछन्। तीमध्ये झापाबाट प्रतिनिधित्व गर्दै फाइनल चरणसम्म पुग्न सफल भएको समूह निदि मावि हो । यसअघि टोलीले बिर्तामोड अडिसनमा उत्कृष्ट प्रदर्शन गर्दै निदिका विद्यार्थी छनोट भएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै निदि क्यामपसका प्रिन्सिपल रन्जित शाहले विद्यार्र्थीलाई जितको शुभकामना दिंदै विद्यालयमा  पढाईका अलवा विद्यार्थीको क्षमता अभिबृद्धिकालागि बिभिन्न अतिरिक्त क्रियाकलाप गराउंदै आएको बताए । उनले विद्यार्थीले उत्कृष्ट प्रस्तुति दिएर अगाडि बढेको खण्डमा अझ विद्यालयले साथ र सहयोग गर्ने बताए ।  

उनले यस्ता राष्ट्रियस्तरका प्रतियोगिताले उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र सांस्कृतिक चेतना अझ निखारिने विश्वास ब्यक्त गरे । 

राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका नृत्य प्रशिक्षक एलसी श्रेष्ठले विद्यार्थीलाई शुभकामना सहित खादा, माला लगाएर बिदाई गरेका थिए ।  उनीहरुले विद्यार्थीले प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लामा बस्दै आएका राजवंशी समुदायको संस्कृति झल्कने नृत्य प्रस्तुत गर्न पाउनु सबैकालागि खुसीको कुरा भएको बताए । 

‘मेरो डान्स युनिभर्स’ सिजन २ मा  काठमाडौँमा  हुँदैछ, जहाँ सहभागी टोलीहरूले विभिन्न लोक, आधुनिक र सांस्कृतिक नृत्यमार्फत प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा निर्णायकहरूले नृत्य कला, प्रस्तुति शैली, संस्कृति झल्काउने क्षमता, र अनुशासनलाई मूल्यांकनका आधारमा छनोट गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको सामूहिक लोक नृत्य विधामा विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो पुरस्कार २५ लाख रुपैयाँ, दोस्रो पुरस्कार १० लाख रुपैयाँ,  तेस्रो पुरस्कार ५ लाख रुपैयाँ प्रदान गरिने ‘मेरो डान्स युनिभर्स’को दोस्रो  प्रतियोगिताको बिर्तामोड संयोजक उज्वल दाहालले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here