बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोड नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमका बीच सभामुख घिमिरेले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नु भएको हो ।
४ करोड ९९ लाखमा भवन निर्माण सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिनुभयो ।
यस्तै, सभामुख घिमिरेले बिर्तामोडमा तीन जनालाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ । बिर्तामोड वडा नं. ७ का ३ जनालाई सभामुख घिमिरेले धनीपुर्जा वितरण गर्नुभएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षमा भएको कार्यक्रममा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, राजनीतिक दलका प्रतिनिधिहरु, वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा बोल्दै सभामुख घिमिरेले नवनिर्मित भवनको उद्घाटन गर्दै नागरिकलाई सहजै सेवा प्रदान गर्न सूझाव दिनुभयो । उहाँले भन्नुभयो,‘ नयाँ भवन बन्नुमात्र ठुलो कुरा होइन, यहाँबाट सुशासनसहितको सेवा प्रदान हुनुपर्छ ।’
यस्तै, सभामुख घिमिरेले भूमि सम्बन्धी ऐन बनाएर समस्याहरुको समाधान गर्दै जाने बताउनुभयो । उहाँले भूमिको समस्या समाधानका लागि कानुन जरुरी रहेको धारणा राख्नुभयो ।





