राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल


२३ जेष्ठ २०८३, शनिबार १६:४४ मा प्रकाशित


नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले सरकार रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा  गम्भीर हुनुपर्ने बताउनुभएको छ । 


शनिवार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनमा बोल्दै उहाँले राज्यले लगानीमैत्री वातावरण बनाउन ध्यान दिनुपर्ने बताउनुभएको हो ।

राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र निजी क्षेत्रलाई फस्टाउन अनुकूल वातावरण बनाउनु रहेको बताउनु भयो । उद्योग तथा व्यवसायमा प्रतिकुल असर पर्नेगरि राज्यले कुनै नीतिहरू लिन नहुने उहाँको भनाई छ । उहाँले उद्योगव्यवसायको प्रोत्साहन हुन नसक्दा देशभित्र रोजगारी नपाएर युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको बताउनु भयो ।

नेपालले आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउन सरकार स्पष्ट रणनीतिका साथ अघि बढ्न नसकेको उहाँको आरोप छ । स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमार्फत आर्थिक सुदृढीकरण सम्भव भएपनि सरकारको त्यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेको बताउनु भयो ।

सह–संयोजक नेपालले नेपालमा विशेषगरी औषधि उद्योग संकटमा परेको बताउनु भयो । करिव १५० बढी औषधि उद्योग बन्द हुने अवस्था रहेको उहाँको भनाई छ । यस विषयमा संसद, राजनीतिक दल र सरोकारवाला निकायहरूले सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारले निजी क्षेत्रका गुनासा सुन्ने, नियमित संवाद गर्ने र नीतिगत सुधारमार्फत उद्योग व्यवसायलाई संरक्षण गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाई छ । कृषि, जलविद्युत् र खनिज स्रोतको विकास आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्नुहुँदै उहाँले उत्पादन, रोजगारी र आम्दानी वृद्धि भएमा उपभोग तथा व्यापार स्वतः विस्तार हुने बताउनु भयो ।

उहाँले नेपालले सिमेन्ट उद्योगलगायत विभिन्न उत्पादनमूलक क्षेत्र संकटमा परेको उल्लेख गर्दै प्राकृतिक स्रोत–साधनले सम्पन्न नेपालले खनिज, कृषि र ऊर्जा क्षेत्रमा आधारित औद्योगिक विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । 

उहाँले सुनचाँदी लगायतका वस्तुमा हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्नेमा पनि जोड दिनुभयो । वैध व्यापार र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here