अर्जुनधाराका ९६ घरपरिवारलाई धनीपूर्जा वितरण


१ श्रावण २०८२, बुधबार २०:०९ मा प्रकाशित

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अव्यवस्थित बसोबासीलाई धनीपूर्जा प्रमाणपत्र वितरण गरेको छ ।

नगरले आज एक कार्यक्रमको आयोजना गरी धनीपूर्जा प्रमाणपत्र वितरण गरेको हो । अर्जुनधारा नगरका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा धनिपूर्जा बितरण गरिएको थियो ।

अर्जुनधारा–११ का एक सय २८ घरधुरी अव्यवस्थित बसोबासीमध्ये आज ९६ परिवारलाई जग्गा धनी पूर्जा प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै सभामुख घिमिरेले भूमि समस्या समाधान आयोगले प्रस्ताव गरेका कतिपय कुराहरु कानुनमा कार्यन्वयन हुन नसकेको बताएका छन् ।

उनले अहिलेपनि कानुनले फुकाउन नसकेका कुराहरुलाई लागू गराउन जटिलता भएको बताउँदै त्यसलाई जिल्ला आयोगले धेरै भन्दा धेरै धनिपूर्जा वितरणका लागि सहजीकरण गरेको बताए । उनले सकेसम्म सरकारले पनि आयोगलाई धनिपूर्जा दिन मिल्ने र सवै प्रक्रिया पुगेकालाई दिने प्रयास गरिरहेको बताएका छन् ।

भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले आर्थिक अभावका कारण सवै जिल्लामा एकपटक सवैलाई धनिपूर्जा वितरण गर्न सक्ने अवस्था नभएको बताए । उनले क्रमश सवै जिल्लामा प्रक्रिया पुगेकालाई वितरण गर्ने र नापजाँच पनि गर्ने बिषयमा जिल्ला आयोगमा छलफल भइरहेको बताए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगर प्रमुख बलदेवले नगरका चार वटा भूमी सम्बन्धी समस्या चुनौतीका रुपमा रहेको बताए । उनले वडा नं. १ को नेपाली सेना र वडावासीबिचको समस्या, वडा नम्बर ७ मा खोलामा नम्बरी जग्गा रहेको, वडा नम्बर ८ मा कम्पनीको नाममा जग्गा कम्पनी बन्द ४०–५० बर्षदेखि जनमानसको बाक्लो बस्ती र वडा नम्बर ११ को नयाँ बसपार्कको जग्गा बिवाद नगरको भूमिसम्बन्धी समस्या भएको बताए ।

उनले त्यसलाई समाधानको प्रसाय भइरहेपनि पूर्ण रुपमा समस्या समाधान हुन नसकेको बताए । स्वागत नगर उपप्रमुख खड्गमाया पराजुलीले गरेको कार्यक्रममा कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, संविधानसभा सदस्य तथा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, प्रदेश सभा सदस्य चिन्तन पाठक, नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबे, आयोगका झापा पदाधिकारी तथा सदस्य, सुरक्षा निकायका प्रमुखहरुलगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here