राष्ट्रिय मानव अधिकार आयोगले गत वर्षको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा गोली कसले र कहाँबाट चल्यो भन्नेकुरा यकिन गर्न नसकिएको बताएको छ ।
नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आयोगद्वारा गठित ‘भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समिति’की संयोजक एवं आयोग सदस्य डा. लिली थापाले गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो ? भन्ने यकिन गर्न नसकिएको स्पष्ट पार्नुभएको हो ।
आन्दोलनका क्रममा अत्याधिक बल प्रयोग भएको स्पष्ट पार्नुभयो । आयोगले ब्यालेस्टिक र फरेन्सिक रिपोर्टका आधारमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने प्राविधिक तथ्य फेला पारे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न भने चुनौती देखिएको जनाएको छ ।
अनुसन्धानका क्रममा प्राप्त फरेन्सिक रिपोर्टलाई आयोगले आफ्नै विशेषज्ञ डा. हरिहर वस्तीमार्फत विश्लेषण गराएको थियो । उहाँकाअनुसार प्रदर्शनकारीलाई लागेका अधिकांश गोली छाती र पेटभन्दा माथिल्लो भागमा रहेको पाइएको छ ।
विशेष कार्यदल (एसटीएफ) अग्रपङ्क्तिमा तैनाथ रहेको र संसद भवन क्षेत्रबाट गोली चलेको देखिए पनि कुन गोली कसले चलाएको हो भन्ने विषयमा यकिन हुन नसकेको प्रतिवेदनमा उहाँको भनाइ छ । यद्यपि, गोली प्रदर्शनकारीको घेराभित्रैबाट चलेको निष्कर्षमा आयोग पुगेको छ ।
प्रतिवेदनले सुरक्षा निकायबाट गम्भीर त्रुटी भएको औंल्याएको छ । कुनैपनि विशेष परिस्थितिमा बल प्रयोग गर्नुपर्दा घुँडामुनि गोली चलाउनुपर्ने सुरक्षा संयन्त्रको विश्वव्यापी मान्यता र प्रचलित कानुनको सिद्धान्त पालना नगरिएको आयोगको ठहर छ ।






