मूल्य नपाउँदा झापामा करोडौंको सुपारी गोदाममा थन्कियो


१७ श्रावण २०७६, शुक्रबार १७:२० मा प्रकाशित

झापा । झापामा करोडौं मूल्यका सुपारी यस बर्ष गोदाममा थन्किएर बसेका छन् । बजारको विक्री मुल्य लागत मूल्य भन्दा कम भए पछि व्यवसायीले अघिल्लो बर्ष देखिको सुपारी गोदाममा थन्काएर राख्नु परेको हो ।

घाटा धेरै हुने भए पछि गोदाममा सुपारी थन्काएर राख्नु परेको व्यवसायीले बताएका छन् । सुपारी बजारमा लगेर बेच्न योग्य बनाउँन घरेलु प्रविधि र जनशक्ति खर्च गर्ने गरिन्छ । वर्षौदेखि झापामा घरेलु प्रविधिबाट नै सुपारी प्रशोधन गर्दै आइएको छ । बगानमा काँचो सुपारी प्रति केजी ५० देखि ५५ रुपयाँ सम्म मुल्य लगाएर खरिद गर्ने गरिन्छ । विदेशी सुपारीको आयतले गर्दा नेपालको सुपारी भारतीय बजारमा बेच्नु पर्ने बाध्यताले किसानले सुपारीको उचित मुल्य पाउन नसकेको अर्जुनधारा ८ का पुराना व्यवसायी हरेकृष्ण गुप्ताले बताए ।

मेशीनको अभावमा पराम्परागत तरिकाबाट सुपारी प्रशोधन गर्दा यसको मूल्य स्वभाविकरुपमा बढ्न सक्छ । काँचो सुपारी सुख्खा बनाएर विक्री गर्ने अवस्थासम्म पुग्दा प्रति केजि ३ सय रुपयाँसम्म लगानी पुग्ने व्यवसायी बताउँछन् । तर यो बर्ष सुख्खा सुपारीको मुल्य बजारमा २ सय ५० भन्दा माथि नबढेकोले घाटा खाएर बेच्नु भन्दा भाउको आशामा गोदाममा सुपारी राखेको सुपारी व्यवसायीले बताएका छन् ।

नेपालको सबै भन्दा धेरै सुपारी उत्पादन हुने जिल्ला झापामा सरदर वार्षिकरुपमा १० हजार मेट्रिक टन झण्डै ३ अर्ब मुल्यको सुख्खा सुपारी उत्पादन हुने गर्छ । तर यो बर्ष बजार मूल्य लागत मूल्य भन्दा कम भए पछि धेरै व्यवसायीले सुपारी गोदाममै थन्काएर राख्नु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here