काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भूुमिका खेल्न सक्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाली पत्रकारिताको इतिहासस् छापादेखि डिजिटलसम्म’ पुस्तक लोकार्पण तथा सम्पादक संवाद कार्यक्रममा बोल्दै मन्त्री पन्तले यस्तो बताउनुभएको हो । पछिल्लो समय मिडिया र सम्पादकहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न नसकेको उहाँको भनाइ छ ।
मन्त्री पन्तले भारतीय युट्युबरहरुको उदाहरण दिँदै नयाँ मिडियाले समाचार, विश्लेषण र व्यङ्ग्यलाई संयोजन गरेर जनमानसमा प्रभावकारी उपस्थिति जनाइरहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारितामा न्यु मिडियाको प्रभाव बढेकै कारण नेपालमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको समेत जिकिर गर्नुभयो । मुलधारका मिडियाहरूले आफूलाई समयसापेक्ष अगाडि बढाउने र तथ्य र तथ्याङ्कमा टेकेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।
मुलुकको लोकतान्त्रिक व्यवस्था सुदृढ गर्न सञ्चारमाध्यमहरूको महत्वपूर्ण भुमिका रहेको मन्त्री पन्तको भनाइ छ ।






