काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गलत काम गर्न नहुने र सही काम गर्न नसके चुप लागेर घरमै बस्न सुझाव दिनुभयो । उहाँले दिनानुदिन भ्रष्टाचारले अफ्ठ्यारो पारिरहेको भन्दै सुशासन दिन सक्नुपर्ने बताउनु भयो ।
पदाधिकारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको कब्जामा राख्नुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको बारेमा छलफल हुने सोचे पनि आफ्नो बारेमा छलफल भएको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय ममानव अधिकार आयोगले सचेत गराएपछि प्रधानमन्त्री आयोगको वार्षिकोत्सव कार्यक्रममै बहाना बनाएर नजानुभएको आरोप लगाउनु भयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छाँै भन्दै प्रश्न गर्नुभयो ।
सांसद कोईरालाले एमालेको जुलुस भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस ठूलो हुनु युवाहरुमा आएको नैराश्यताको परिणाम भएको बताउनु भयो । उहाँले अहिलेका नेताहरुको आचरण लोकतान्त्रिक गणतन्त्रको नभएको बताउनु भयो ।
उहाँले राजनीतिमा नैतिकताको धरातल कमजोर भए राजनीतिको जड हल्लिने बताउनु भयो । त्यस्तो व्यक्तिले राजनीति गर्न नहुने बताउनु भयो । राजनीति गर्दा नैतिकवान भएर गर्न सुझाव दिनुभयो ।
सांसद कोईरालाले काँग्रेस सरकारमा रहेको तर सत्तामा नरहेको बताउनु भयो । सरकारले गरेका असल कामलाई असल र खराबलाई खराब भन्नुपर्ने बताउनु भयो । उहाँले बजेट कर्णप्रिय रहेको र कार्यान्वयन पक्षलाई सुधार गर्न जरुरी रहेको बताउनु भयो ।