काठमाडौं । दक्षिण कोरियाको सैन्य विमान दुर्घटनामा सबै चार जना चालक दलका सदस्यको मृत्यु भएको स्थानीय पत्रिका चोसुन इल्बोले बिहीवार जनाएको छ ।
रक्षा मन्त्रालयकाअनुसार चार जना चालक दलका सदस्यसहितको पी–३ समुन्द्री गस्ती विमानले स्थानीय समय अनुसार दिउँसो १ः४३ बजे दक्षिणपूर्वी शहर पोहाङको एक सैन्य अड्डाबाट प्रशिक्षणका लागि उडान भरेको थियो स्थानीय समय अनुसार दिउँसो १ः४९ बजे गस्ती विमान बेस नजिकैको पहाडमा दुर्घटनाग्रस्त भएको थियो ।
चालक दलका सदस्य बाहेक अन्य नागरिकको हताहत नभएको मन्त्रालयले उल्लेख गरेको छ । चालक दलका सबै सदस्यहरू जलेको शवको रूपमा फेला परेको अखबारले जनाएको छ ।
योनहाप समाचार एजेन्सीका अनुसार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट तीन जनाको शव निकालिएको छ । अग्नि नियन्त्रण अधिकारीहरूले विमानमा लागेको आगो निभाउन हेलिकप्टर, उपकरण र अग्नि नियन्त्रकहरूलाई परिचालन गरेका थिए ।
सिन्ह्वाको सहयोमगा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।