काठमाडौं । प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग पहिलोपल्ट मोफसलमा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा निर्माणाधीन रहेकाले एनभिए लिग पहिलो पल्ट मोफसलमा सारिएको हो । आगामी जेठ ८ देखि १५ गतेसम्म लिग पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुनेछ । नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलनमार्पmत यसपल्ट लिग पोखरामा गर्ने जानकारी दिएको हो । पुरुषतर्पm आठ र महिलातर्फ ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।
पुरुषमा हेल्प नेपाल स्पोर्ट्स क्लव, एपिएफ, त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लवको प्रतिष्पर्धा रहनेछ ।
महिलामा भने नेपाल पुलिस क्लव, एपिएफ क्लव, त्रिभूवन आर्मी क्लव, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लव, एभरेस्ट भलिबल क्लव र कर्णाली प्रदेशले सहभागिता जनाउनेछन् ।
हरेक टोलीले तीन विदेशी खेलाडी अनुवन्ध गर्न पाउनेछन् । नेपाल भलिबल संघले यस पल्टदेखि सहभागी टोलीलाई प्रतिव्यक्ति १ हजार २०० रुपैयाँ म्याच मनीका रूपमा उपलब्ध गराउने भएको छ । दुवैतर्फका विजेताले ८ लाख उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको अनुमानित बजेट ९० लाख रुपैयाँ रहेको आयोजक जानकारी दियो । सबै खेलाडीको बीमा गरिएको संघले जनाएको छ ।