काठमाडौं । सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभइ जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ ।
शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले यथार्थ के हो भन्ने बारे नेपाली जनताहरुले हेर्ने काम कम भइरहेको बताउनु भयो ।
उहाँले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले यथार्थलाई बुझ्ने,बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताउनु भयो ।
जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको बताउनु भयो । जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत देखिन थालेको बताउनु भयो । नेताको परिवर्तन प्रणालीले नै गरिरहेको पनि सभामुख घिमिरेले बताउनु भयो ।
सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताउनु भयो । देशमा बढिरहेको प्रणाली बिरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।