काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिलाहरूको सारभुत सशक्तिकरण र सहभागिता बिना ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताउनुभएको छ ।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री वादीले नेपालको संविधानले महिलालाई समानता, सम्मान र सहभागिताको मौलिक हक प्रदान गरेको स्मरण गराउनु भयो ।
संविधानको धारा ३८ ले महिलामाथि हुने सबै प्रकारका विभेद र हिंसा अन्त्य गर्दै वंशीय हक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक र राज्यका हरेक संरचनामा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गरेको उहाँको भनाइ छ । सरकारले महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
उहाँले हालको मन्त्रिपरिषद्मा महिलाको सहभागिता ३७.५ प्रतिशत पुग्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो । संघीय संसद्, प्रदेश तथा स्थानीय तहमा महिलाहरूको बढ्दो प्रतिनिधित्वले उनीहरूको नेतृत्व क्षमतामाथिको विश्वासलाई थप बलियो बनाएको उहाँले दाबी गर्नुभयो ।
लैङ्गिक हिंसा, बालविवाह, छाउपडी, बोक्सीको आरोप र दाइजो जस्ता कुप्रथा अन्त्यका लागि सरकारले ‘शुन्य सहनशीलता’को नीति अवलम्वन गरेको जानकारी दिनुभयो । मन्त्री वादीले ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क आपत्कालीन हवाई उद्धार सेवा निरन्तर सञ्चालन भइरहेको बताउनु भयो ।
मन्त्रालयको कार्यक्षेत्र विस्तार गरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न कार्यक्रमहरू सञ्चालन भइरहेको समेत उहाँले जानकारी दिनुभयो । यसका साथै दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारूलगायत सीमान्तकृत समुदायको उत्थानका लागि नीतिगत र कानुनी समन्वय भइरहेको उहाँको भनाइ छ ।
तर समाजमा अझै पनि पितृसत्तात्मक सोच र लैङ्गिक विभेद चुनौतीका रूपमा रहेको मन्त्री वादीले स्वीकार गर्नुभयो । महिलाको क्षमता, सीप र सृजनशीलतालाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउन सरकारी, निजी क्षेत्र, नागरिक समाज र समुदायबीच प्रभावकारी सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महिला सशक्तिकरणको अभियान सरकारको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको मन्त्री वादीको निष्कर्ष छ । महिला अधिकारको सम्मान ः आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।






