आगामी निर्वाचनमा कम्तीमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेद्वार बनाउनेछौँः सभापति थापा


१६ जेष्ठ २०८३, शनिबार १७:४४ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानिय तहको निर्वाचनमा कम्तीमा १ सय स्थानिय तहको प्रमुखमा महिला उम्मेद्वार बनाउने बताउनुभएको छ । 


शनिवार आयोजित नेपाल थारु संघको अधिवेशनमा उहाँले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताउनुभएको हो । आगामी निर्वाचनमा ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा नेपाली काँग्रेसको तर्फबाट महिला मेयर वा अध्यक्ष उम्मेदवार उठाउने लक्ष्यका साथ काम गर्नुपर्ने उहाँको भनाई छ ।

उक्त लक्ष्य हासिल गर्न अहिलेदेखि नै महिला नेतृत्व विकास, प्रशिक्षण र उम्मेदवार तयारीमा लाग्नुपर्ने उहाँले बताउनु भयो । उहाँले उम्मेदवार छनोट र तयारीलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्यूरो गठन गरेको जानकारी दिनुभयो । साथै, नेतृत्व विकासका लागि ‘लीडरशिप एकेडेमी’ नामक छुट्टै संरचना स्थापना गरिएको र त्यसको लागी छिट्टै खुला आह्वान गरिने बताउनु भयो ।

उहाँकाअनुसार स्थानीय तहको निर्वाचन लड्न चाहने नयाँ वा पुनः उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनिवार्य रूपमा लीडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा गर्नुपर्नेछ । कोर्स पूरा गरेपछि मात्रै उम्मेदवारका रूपमा योग्य मानिने उहाँले बताउनुभयो ।

महिला उम्मेदवारको संख्या बढाउन अहिलेदेखि नै बढीभन्दा बढी महिलालाई नेतृत्व विकास कार्यक्रम र प्रशिक्षणमा सहभागी गराउन आवश्यक रहेको उहाँको भनाई छ । पार्टीले आगामी निर्वाचनमा विभिन्न समुदायको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले नेपाल थारु संघलाई पनि सम्भावित उम्मेदवारको खोजी, प्रोत्साहन, प्रशिक्षण लगायतका काममा सहभागी हुन आग्रह गर्नुभयो । योग्य व्यक्तिहरूलाई निर्वाचन ब्यूरो र लिडरशिप एकेडेमीसँग जोडेर नेतृत्व विकासमा सहयोग गर्न सम्पूर्ण भ्रातृसंस्था लाग्नुपर्ने उहाँको भनाई छ । सभापति थापाले अधिवेशन नभएका भातृसंस्थाहरुको नेतृत्व छिट्टै चयन हुने बताउनु भयो । नेपाल विद्यार्थीसंघ लगायत नेतृत्व खाली रहेका भ्रातृसंस्थाको एकदुई दिनभित्रै नेतृत्व चयन गरिने उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here