काठमाडौं । कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) बीच स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा तालिममा सहकार्य गर्ने समझदारी भएको छ।
जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट–नेपाल) अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सोमबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।
कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. अरुण शाहीले समझदारीपत्रमा हस्ताक्षर गरे। कार्यक्रममा कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मी र पाटन अस्पतालका डिन डा. आशिष श्रेष्ठ साक्षी बसेका थिए।
समझदारीअनुसार दुवै अस्पतालले बिरामीको आवश्यकताअनुसार उपचार सेवा उपलब्ध गराउन एकअर्कामा सहज बिरामी प्रेषण (रिफरल) गर्नेछन्। दुवै संस्थाको सेवा क्षमता र उपलब्धताका आधारमा बिरामीलाई उपयुक्त अस्पतालमा पठाउने व्यवस्था मिलाइनेछ।
त्यस्तै, आवासीय चिकित्सक, स्नातकोत्तर प्रशिक्षार्थी, मेडिकल विद्यार्थी, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई क्लिनिकल रोटेशन र शैक्षिक आदानप्रदानको अवसर प्रदान गरिनेछ। कीर्तिपुर अस्पतालमा बर्न तथा प्लास्टिक सर्जरी र पाटन अस्पतालमा एनेस्थेसियालगायतका विधामा तालिम तथा रोटेशन सञ्चालन गर्ने समझदारी भएको छ।
दुवै संस्थाले संयुक्त रूपमा निरन्तर चिकित्सा शिक्षा (सीएमई) अन्तर्गत सेमिनार, कार्यशाला तथा अनुसन्धानमूलक कार्यक्रमसमेत सञ्चालन गर्नेछन्।
समुदायमा आधारित अस्पताल र शैक्षिक स्वास्थ्य संस्थाबीचको सहकार्यबाट बिरामी उपचार सेवा प्रभावकारी बनाउनुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्यकर्मीको व्यावहारिक ज्ञान तथा सीप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. शाहीले यो सहकार्यले दुवै अस्पतालबीच विशेषज्ञ सेवा आदानप्रदान र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी तथा स्वास्थ्यकर्मीको व्यावहारिक सिकाइमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।