काठमाडौं, ८ मंसिर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
सरकारले कानुनी प्रक्रिया र आवश्यक मापदण्ड पूरा नगरी आनीलाई उपाध्यक्षमा नियुक्त गरेको दाबी गर्दै निवेदकहरूले उक्त निर्णय बदर गर्न माग गरेका छन् ।
रिटमा आनीको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयसमेत उठाइएको छ । यी विषय विवादमा रहेकै अवस्थामा सरकारले उनलाई सार्वजनिक पदमा नियुक्त गर्नु कानुनी व्यवस्थाविपरीत भएको निवेदकहरूको जिकिर छ ।
अभियानका सहसंयोजक अजय सोडारीले नियुक्तिको विषयमा सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि न्यायिक प्रक्रियामा जानुपरेको बताएका छन् ।
उनका अनुसार नियुक्तिको कानुनी वैधता परीक्षण गरी विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।
रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र आनी छोइङ डोल्मालाई विपक्षी बनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनीलाई पाँच वर्षका लागि कोषको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । उनले मंसिर २ गते पदभार ग्रहण गरेकी थिइन् ।
नियुक्तिको विरोधमा यसअघि अभियानले काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेको थियो । सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइका लागि बुधबार पेसी तोकेको छ ।