विराटनगर । स्विट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युवली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भएको भेटमा दुईपक्षीय हित, आपसी सहकार्य र विकास साझेदारीका विषयमा छलफल भएको हो ।
भेटमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पदमार्ग निर्माण, व्यवस्थापन र शासकीय सुधारका क्षेत्रमा स्विस सरकारले गरेको सहयोगको प्रशंसा गरे । उनले आगामी दिनमा विपद् व्यवस्थापनमा पनि सहकार्य गर्न स्विस सरकारलाई आग्रह गरे ।
जलवायु परिवर्तनका कारण देखिएका समस्या न्यूनीकरण गर्न साझेदारी आवश्यक रहेको उनले बताए । प्रदेशको आर्थिक समृद्धिका लागि सरकारले अघि बढाएका परियोजना छिटो र प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको उल्लेख गर्दै उनले त्यसको प्रगति उत्साहजनक रहेको बताए ।
स्विस राजदूत म्युवलीले कोशी प्रदेशको विकास र समृद्धिका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाइन् । उनले सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्दै आगामी सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने बताइन् ।
भेटमा स्विस सरकार विकास सहयोगका प्रमुख म्याथियास मायर, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्य न्यायाधिवक्ता नारायण बस्ती, आर्थिक सल्लाहकार मोहन सुवेदी र प्रेस सल्लाहकार विक्रम लुइटेललगायत सहभागी थिए ।