विराटनगर । सामान्य संक्रमणमा प्रयोग गरिने एन्टिबायोटिक औषधिले नै काम गर्न छाड्ने अवस्था बढ्दै गएपछि यसको जथाभावी प्रयोग नियन्त्रण गर्न सरोकारवालाले जोड दिएका छन्। एन्टिबायोटिकको अनावश्यक र गलत प्रयोगले प्रतिजैविक प्रतिरोध (एएमआर) को जोखिम बढाउँदै लगेको भन्दै औषधि व्यवसायी, स्वास्थ्यकर्मी तथा नियामक निकायका प्रतिनिधिहरूले यसको समुचित प्रयोगमा सचेत हुनुपर्ने बताएका छन्।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा औषधि व्यवस्था विभाग, शाखा कार्यालय विराटनगरले सोमबार विराटनगरमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रियामा औषधिको जथाभावी प्रयोग रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको हो।
होटल रुविजमा आयोजित कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. कृतीपाल सुवेदी प्रमुख अतिथि थिए।
कार्यक्रममा विभागको विराटनगर कार्यालय प्रमुख राजेश श्रेष्ठले प्रतिजैविक औषधिको प्रभावकारिता घट्दै जानु गम्भीर विश्वव्यापी स्वास्थ्य चुनौती बनेको बताए। विश्व स्वास्थ्य संगठनले सन् २०१५ देखि नै यस समस्याबारे जनचेतना फैलाउन विश्वव्यापी अभियान सञ्चालन गर्दै आएको जानकारी दिँदै उनले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नरहेको स्पष्ट पारे।
‘वान हेल्थ’ अवधारणाअनुसार मानव स्वास्थ्य, पशुपन्छी, कृषि, खाद्य सुरक्षा र वातावरण एकअर्कासँग जोडिएकाले प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
श्रेष्ठका अनुसार नेपालले एएमआर न्यूनीकरणका लागि पाँचवटा मुख्य रणनीतिक क्षेत्र पहिचान गरेको छ। जसमा जनचेतना अभिवृद्धि, अध्ययन तथा अनुसन्धान, संक्रमण रोकथाम तथा नियन्त्रण, प्रतिजैविक औषधिको समुचित प्रयोग र राज्यको लगानी वृद्धि समेटिएका छन्।
सोमबारको अन्तरक्रिया विशेषगरी प्रतिजैविक औषधिको समुचित प्रयोगमा केन्द्रित थियो। औषधि व्यवसायसँग आबद्ध संघसंस्था, थोक तथा खुद्रा विक्रेतालाई एन्टिबायोटिकको जथाभावी प्रयोगबाट उत्पन्न हुने समस्या, चुनौती र नियन्त्रणका उपायबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए।
कार्यक्रममा विराट मेडिकल कलेजका प्रतिनिधिले प्रतिजैविक प्रतिरोधको अर्थ, यसको कारण र नियन्त्रणका उपायबारे प्रस्तुति दिएका थिए। त्यस्तै, औषधि व्यवस्था विभागका प्रतिनिधिले एएमआर न्यूनीकरणका लागि विभागले गर्दै आएका काम तथा नियामक हस्तक्षेपबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
‘वान हेल्थ, वान एक्सनः प्रिभेन्ट एएमआर नाउ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा औषधि व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता थियो।