याक र चाैँरी नेपालको पहिचान र गौरव हुन्ः कृषिमन्त्री अधिकारी


७ बैशाख २०८२, आईतवार १६:२९ मा प्रकाशित


काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौँरी पालन संरक्षण र प्रवद्र्धनमा संगठित प्रयास गर्नुपर्ने बताउनुभएको छ ।


याक दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिलो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौँरी पालन घट्दो अवस्थामा रहेको बताउनु भयो ।

उहाँले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चाँैरी पालन भएको बताउनु भयो । चौरीको दूधबाट बन्ने छुर्पी, छेनालगायतका वस्तु हिमाली क्षेत्रका समुदायको खानपानको मेरुदण्ड भएको उहाँको भनाइ छ ।

याक र चौरी पर्यटन प्रवद्र्धनको समेत आकर्षण केन्द्र भएको बताउनु भयो । उहाँले याकको छाला र पुच्छरबाट निर्माण हुने वस्तुहरु विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनु भयो ।

उहाँले चौरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती, वातावरण सन्तुलन लगायतमा महत्वपूर्ण योगदान गरेको बताउनु भयो । याक र चौँरी नेपालको पहिचान, गौरव र धरोहर भएको उहाँको भनाइ छ ।


कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नेपालमा शुरु गरिएको याक दिवसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने बताउनु भयो । उहाँले याक तथा चाँैरी पालन गर्ने देशहरुको साझा संस्कृति र साझा सम्पतीको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।

उहाँले याक पालनलाई सम्बन्धित देशहरु नेपाल, भारत, चीन तथा भूटानले आन्तर्राष्ट्रिय सरोकारको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । दिवस मनाउँदा याक पालन क्षेत्रमै गएर मनाउनुपर्ने उहाँको भनाइ छ ।

याकप्रतिको आकर्षण बढाउन तथा जैविक तथा आर्थिक महत्व उजागर गर्न सरकारले वैशाख ७ गतेलाई याक दिवस घोषणा गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here