काठमाडौं । संखुवासभामा निर्माण सम्पन्न भएको कोशी करिडोर प्रसारण लाइनको उद्घाटन हुने भएको छ । आगामी मंगलबार प्रसारण लाइनको ऊर्जामन्त्री दीपक खड्का र भारतीय समकक्षी मनोहर लाल खट्टरले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
संखुवासभामा रहेको बसन्तपुर– बानेश्वर–तुम्लिङटार र ढुङ्गेसाँघु २२० केभीका चारवटा सबस्टेशन र तीन वटा ट्रान्समिशन प्रसारण लाइनको संयुक्त उद्घाटन हुँदैछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत् र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका हुन् । मन्त्री खट्टर मंगलबार विहान नेपाल आइपुग्ने समय तालिका रहेको छ ।
कोशी करिडोर अन्तर्गत बानेश्वर बसन्तपुर ३३ किलोमिटर प्रशारण लाइन, बसन्तपुर–ढुङ्गे साँघु ३४ किलोमिटर र बसन्तपुर देखि इनरुवासम्म ७४ किलोमिटर प्रशारणलाईन निर्माण भएको छ।
सन् २०१६ बाट सुरु भएको आयोजनामा भारत सरकारको सहुलियतपूर्ण ९० मिलियन अमेरिकी डलर ऋण र नेपाल सरकारको २२ मिलियन अमेरिकी डलर गरी ११२ मिलियन अमेरिकी डलर लगानीमा निर्माण सम्पन्न भएको हो।
यी आयोजनाले कोशी करिडोर प्रसारण लाइनमार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १,००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब १,००० मेगावाट, र बसन्तपुरदेखि इनरुवा खण्डमा करिब २,००० मेगावाट विद्युत् प्रवाह गर्न सकिने क्षमता रहेको छ। अरुण र तमोर नदी तथा तिनका सहायक नदीहरूमा निर्माणाधीन जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न कोशी करिडोरको विकास गरिएको हो।
यो आयोजना पूर्वी नेपालमा विद्युत् आपूर्तिको भरपर्दो आधार बनेको छ भने भारतसँगको ऊर्जा व्यापार विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याउने छ।