प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाकाअनुसार आईतवार गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजा शहरको अल–दराज छिमेकमा विस्थापित मानिसहरूको घर रहेको मुसा बिन नुसेर स्कुलमा इजरायलले गरेको बमबारीमा तीन बालबालिका र दुई महिलासहित कम्तीमा नौ व्यक्तिको मृत्यु भएको थियो ।
इजरायली सेनाले गाजा शहरको अल–जला स्ट्रिटमा एउटा गाडीमा बमबारी गर्दा थप चार जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । उत्तरी शहर जबलियामा इजरायलको आक्रमणमा चार बालबालिकासहित पाँच नागरिकको मृत्यु भएको वाफाले एक छुट्टै रिपोर्टमा जनाएको छ ।
दक्षिणी गाजापट्टीमा इजरायली सेनाले खान युनिसको पश्चिममा रहेको आफ्नो अपार्टमेन्टमा आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने रफाह सहरमा इजरायली बमबारीमा तीन जनाको मृत्यु भएको थियो ।
इजरायलले गाजा पट्टीमा अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमासको आक्रमणको बदला लिन ठूलो मात्रामा आक्रमण गरिरहेको छ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीहरूको मृत्यु हुने संख्या ४५ हजार २२७ पुगेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।