काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रिन्ट मिडिया र बोर्ड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरु, जनताको सूचनाको प्रत्याभुति गरिरहेको भएपनि अनलाइन मिडियाहरुले अराजकता मच्चाउने काम गरिरहेको बताउनु भयो ।
उहाँले संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउने काममा अनाइन मिडिया लागेकाले यसको नियमन अहिलेको पहिलो आवश्यकता भएको बताउनु भयो । अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको बताउनु भयो । उहाँले अनलाइन मिडियाहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भत्काउने काम गरिरहेको बताउनु भयो ।
मन्त्री गुरुङले साइबर क्राइम नियमन गर्ने ऐन पनि ड्राफ्ट भइरहेको र छिटै मन्त्रीपरिषद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।






