काठमाडौं । उपत्यकाभित्रका १५ भन्दा बढी पेट्रोलपम्प तत्काल स्थानान्तरण गरिने भएको छ । सडकमै पेट्रोलपम्प सञ्चालन भएकाले हिडडुल र ट्राफिक व्यवस्थापनमा असहज हुनुका साथै जोखिम पनि उत्तिकै भएपछि यस्ता पेट्रोलपम्प स्थानान्तरण गर्न लागिएको हो ।
काठमाडौं महानगरपालिकाका अनुसार आगलागी लगायत विपद्का हिसावले पम्पहरुले शहर नै जोखिममा पारेको छ । एउटा पम्पदेखि अर्को पम्मको दुरी पनि नजिक छ । मापदण्ड मिचेर पम्पहरु सञ्चालन भइरहेका छन । पम्पहरु वस्तीभन्दा टाढा राख्नुपर्ने प्रावधान पनि मिचिएको छ । महानगरका अनुसार सुरक्षा र ट्राफिक व्यवस्थापनका हिसावले उपत्यकाभित्रका १५ भन्दा बढी पेट्रोलपम्पहरु तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ । राजधानीमा शहरका मध्यभाग, सडक छेउ तथा साघुरा स्थानमा रहेका पेट्रोल पम्पहरु हटाउन सरकारले तयारी शुरु गरेको छ । उपत्यकाका विभिन्न स्थानमा रहेका यस्ता पेट्रोल पम्पहरु हटाउन नयाँ कानुन नै निर्माण गर्न लागिएको छ ।
यसका लागि कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयले कानुन ड्राफ्ट गरिरहेको छ । काठमाडौं महानगरपालिकाले उपत्यकाका शहरभित्रका पम्पहरुको अध्ययन गरेपछि नयाँ कानुन निर्माण गर्न लागिएको हो । हालकै अवस्थामा पम्पहरु हटाउँदा कानुनी समस्या हुनसक्ने भएकाले नयाँ कानुन आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । पुरानो कानुन पर्याप्त नभएकाले नयाँ कानुनमार्फत् व्यवस्थापन गर्नुपर्ने महानगरपालिकाका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले बताएका छन् ।
पुरानो कानुन र संरचना अनुसार पम्पहरु ठीक ठाउँमा भएपनि सडक विस्तार र घरहरु पनि थपिएपछि साघुरो स्थानमा पम्पहरुमा समस्या हुनुका साथै जोखिम पनि उत्तिकै रहेको छ । ‘त्यो बेलाको कानुन पर्याप्त थिएन, त्यतिवेला जसरी नी पम्प राख्नुपर्ने थियो बढ्दै जाँदा कानुन विपरीत भएपछि तिनीहरुको व्यवस्थापन गर्न नयाँ कानुनको निर्माण भइरहेको छ’, कुँवर भन्छन् । नयाँ कानुन लिएर नै काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै महानगपालिकाले उपत्यकाको सहरी क्षेत्रमा रहेका पम्पहरुको अध्ययन गरेपछि नयाँ कानुन निर्माण गर्न लागिएको हो ।
महानगरपलिकाले अध्ययन समिति बनाएर काम थालेको थियो । समितिमा नेपाल आयल निगम, महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग लगायतका निकायहरुका प्रतिनिधि छन् । सडकमै पेट्रोलपम्प सञ्चालन भएकाले हिडडुल र ट्राफिक व्यवस्थापनमा असहज भएको महानगरपालिकाले जनाएको छ । यसका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यको निर्णयअनुसार एक महिनाअघि बनेकोे महानगरपालिका, सडक विभाग, ट्राफिक प्रहरी र नेपाल आयल निगम सम्मिलित संयुक्त कार्यदलले अध्ययन गरिरहेको छ । कार्यदल संयोजक कुँवरका अनुसार साँघुरा र सडक छेउका पम्पका कारण ट्राफिक व्यवस्थापन असहज भएको र आगलागीजस्ता सम्भावित समस्याबाट सजग रहन महानगरपालिकाले अध्ययन गरिरहेको छ ।
‘पिक एन्ड ड्रप’को नतिजा राम्रो देखिएको र दीर्घकालीन समाधानका लागि पेट्रोल पम्प स्थानान्तरण गर्न लागिएको हो । यसको विकल्पको रूपमा नजिकै रहेका स्थानमा सार्ने तथा स्थान अभाव भएका पम्पबारे समितिले प्रतिवेदन पेस गरेपछि आवश्यक निर्णय लिइने बताइएको छ । पेट्रोल पम्प सञ्चालनका लागि कम्तीमा डेढ रोपनी जग्गा हुनुपर्ने नियम रहेको छ भने सडक तथा बस्तीबाट केही दूरीमा रहनुपर्ने हुन्छ । तर, महानगर क्षेत्रमा रहेका अधिकांश पेट्रोल पम्प सडकको नजिकै रहेका छन । यसकारण पेट्रोलको लाइनका कारण सहज अवस्थामा पेट्रोल पाईने अवस्थामा समेत सडकमा असर पर्ने गर्दछ । यस अवस्थामा महानगर क्षेत्रका १५ भन्दा बढी स्थानका पेट्रोल पम्प स्थानान्तरण वा अन्य व्यवस्था गर्नुपर्नेहुन्छ ।





