काठमाडौं । फिलिपिन्समा गएको भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन् । ६० भन्दा बढी घाइते भएका छन् ।
फिलिपिन्सको बातानेस प्रान्तमा एकै दिन दुई पटक भूकम्प जाँदा बढी क्षति भएको हो । शनिवार सबेरै देशको उत्तरमा पर्ने बातानेस प्रान्तमा ५.४ र ५.९ म्याग्निट्युडको भूकम्प गएको हो । उक्त प्रान्तमा कैयौँ टापु छन् । मेयर राउल डे सागोनले करिब ६० जना घाइते भएको बताएका छन् ।
भूकम्प जाँदा धेरै मानिसहरू घरभित्रै रहेको बताइएको छ । भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छैन । एकजना प्रहरी अधिकारीले समाचार संस्था एएफपीलाई भने, “मैले घरहरू हल्लिरहेको देखेँ । केही घरका पर्खाल ढले र मानिसहरू च्यापिए।”
“बिहानको मीठो निद्रामा भएकाले भाग्न नपाएर केही मानिसहरूले ज्यान गुमाए ।” फिलिपन्सको रेडक्रसले सामाजिक सञ्जालमा राखेका तस्वीरहरूमा घरहरू भग्नावशेषमा परिणत भएको देखिन्छ । फिलिपिन्स भूकम्पीय गतिविधि धेरै हुने क्षेत्रमा पर्छ ।





