काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमा रोजगारीको वातावरण बनाइने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संरचनाको चरणमा रहेको उल्लेख गर्नुभयो । मन्त्रालयको संरचना निर्माणका लागि ओएनएमको प्रश्ताव मन्त्रीपरिषद्मा पुगेको बताउनु भयो ।
उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको मात्रै काम गरेको जस्तो देखिएकाले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको बताउनु भयो ।
उहाँले सरकारले रोजगार दिने नभइ रोजगारीको वातावरण मात्रै निर्माण गरिदिने र रोजगारी निजी क्षेत्रले दिने बताउनु भयो । उहाँले मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवद्र्धन गर्ने, अघि बढाउने काममा आफूहरु लागिपरेको बताउनु भयो ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट सीप सिकेर आएका व्यक्तिहरु नेपालका लागि उपयुक्त जनशक्ति भएको बताउनु भयो । उहाँले अहिलेको प्रविधिलाई प्रयोग गरेर सबै सेवा फेसलेस र पेपरलेस बनाउने काममा अघि बढिरहेको बताउनु भयो ।