टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताउनुभएको छ । टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा बताउनुभएको हो ।
सिरियाली शरणार्थीहरू फर्कने क्रममा भीडभाड रोक्न र ट्राफिकलाई सहज बनाउन यायलदागी क्रसिङ खोल्ने बताउनु भयो । दक्षिणी हाते प्रान्तको यायलदागी क्रसिङ सिरियाको उत्तरपश्चिमी छेउमा अवस्थित छ । यस क्षेत्रमा द्वन्द्वका कारण सन् २०१३ देखि बन्द गरिएको छ ।
सिरियामा घर फर्कन खोज्ने सयौं शरणार्थीहरू पनि दक्षिणी टर्कीका दुई अन्य सीमानामा भेला भएका छन् । नोभेम्बर ३० मा अपडेट गरिएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार टर्कीएमा लगभग ३.७ मिलियन सिरियाली शरणार्थी छन् ।