झापा । प्रहरीलाई कुटपिट गर्ने सांसदको स्वकीय सचिव हुँ भन्दै हिँड्ने विशाल खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी साँवाको स्वघोषित स्वकीय सचिव (पिए) हुँ भन्दै हिँड्ने खनालले ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
मादकपदार्थ सेवन गरेका खनालले शिवसताक्षी–१० माइधारमा रहेको प्रहरी बिटका हवल्दार हेमकुमार मगरलाई शुक्रबार कुटपिट गरेका हुन । ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने खनाललाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
अहिले खनाललाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर सार्वजनिक शान्ति सुरक्षा खलल तथा अभद्र व्यवहारमा म्याद थप गरी मुद्दा चलाइएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अस्ति बुधबार साँझ माइधारमा आफ्नो कार्य क्षेत्रमा खटिएका हवल्दारलाई आफु सांसदको पिए भएको भन्दै खनालले लछार–पछार पार्दै कुटपिट गरेका थिए । कन्काई नगरपालीका सुरुङ्गामा मादकपदार्थ सेवन गरेर टेम्पो चढेर आउँदै गरेका खनालले माइधारमा आईपुगेपछि टेम्पोचालकसँग विवाद गरेको र उनलाई सम्झाउन खोज्दा प्रहरी माथि नै हातपात गरेको प्रहरीले जनाएको छ ।
शिवसताक्षी–९ घर भएका खनालले यसअघि पनि सुरुङ्गाका विभिन्न व्यक्तिसँग आफु सांसदको पिए हुँ भन्दै यस्तै हातपात गरेको बताईएको छ । पक्राउ परेका खनाललाई प्रहरीले मादकपदार्थ सेवन गरेको हो, होइन भन्ने मेडीकल चेक गरेर कारवाही प्रक्रिया अघि बढाइएको जानकारी जिल्ला प्रवक्ता श्रेष्ठले दिए । सांसद एलपी साँवाको स्वकीय सचिव भने सिक्किम पासवान भएको हुन् ।





