जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु 


२५ मंसिर २०८१, मंगलवार १०:२२ मा प्रकाशित

काठमाडौं । काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु भएको छ । भक्तपुर नगरको ऐतिहाकि महत्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा शुरु भएको छ । सोमवार रातिबाट नवदुर्गा भवानीको जात्रा शुरु भएको हो ।

जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा आज रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको पूजा हुने भवानी जात्रामा तान्त्रिक विधिद्वारा पूजाअर्चना गर्ने गरिन्छ । भवानी जात्रामा तान्त्रिक अनुष्ठान गर्ने गरिन्छ ।

वर्षको ८ महिनासम्मको मकुण्डोसहितको जात्रा हरेक वर्ष यसै समयमा दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगणको भेटघाट तथा प्रसाद आदानप्रदान हुन्छ । पशुपतिनाथका मुल पुजारीबाट नवदुर्गा भवानीलाई पूजा गरी पशुपतिको जल र मुल प्रसाद भैरवको हातमा चढाउने चलन रहेको पाइन्छ ।

पशुपतिको मुलचोकमा देवगणको नाचसँगै भित्रका सम्पूर्ण देवताहरूलाई भेटघाट गर्ने र पूर्वपट्टिको गुजेश्वरी देवतालाई नाचको रूपमा भेट गरी दक्षिणतर्फ रहेको शिवालय चोकमा मुः बाहाँं लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ ।

यसैगरी, जय वागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम माछा मार्ने जात्राको लागि खः जुयेगु (बास बस्ने) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट बिहानदेखि बाराही नाच, सिम दुमको माछा मार्ने नाचसँगै महाकाली नाच र सेतो भैरवले माछा मार्ने जात्रा गरी बेलुकासम्ममा सम्पूर्ण नाच सम्पन्न गरी पुनः भक्तपुर नपामा फर्किने चलन छ । सोही स्थानमा देवगणहरूले आफ्नो देवताको मकुण्डो, पोशाकदेखि आवश्यक सामानहरू खर्पन अथवा खमुमा राखेर बोक्दै जानुपर्ने परम्परा अहिलेसम्म छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here