काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको दाबी गर्दै उहाँले सो असरलाई कम गर्न सरकार कटिवद्ध र प्रतिवद्ध रहेको बताउनुभएको हो । विश्व बाल दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरुको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभुति गर्न सरकारले प्रभावकारी नीतिहरु र कार्यक्रमहरुको कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताउनु भयो ।
जलवायु संकट बाल अधिकारको संकट पनि भएको उल्लेख गर्दै उहाँले त्यस्ता संकट समाधानका लागि सरकारले जलवायु संकटको पैरवीलाई जोड दिनुपरेको स्पष्ट पार्नुभयो ।
त्यस अवसरमा मन्त्री शाहीले जलवायु संकट कम गर्नका लागि घर, परिवार र समुदाय स्तरमा नै जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताउनु भयो ।