लोकरिझ्याँईको राजनीति गलत होः मन्त्री गुरुङ


५ मंसिर २०८१, बुधबार १५:२३ मा प्रकाशित


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याँईको राजनीति गलत भएको बताउनुभएको छ ।


बुधवार काठमाडौंमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाज नै ढोंगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यही मात्रै बोल्ने क्रमको विकास भएको बताउनु भयो ।

उहाँले कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ जस्ता लोकरिझ्याँईका अभिव्यक्ति दिनु नहुने बताउनु भयो । उहाँले नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै नचाहिने भन्दै निर्वाचन जितेपछि र पार्टी एवं नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा गलत रहेको बताउनु भयो ।

सही पात्र नपाउँदा देश विकास हुन नसकेको मन्त्री गुरुङको भनाइ छ । उहाँले विषय विज्ञहरुलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताउनु भयो । 


मन्त्री गुरुङ नयाँ चलचित्र ऐन, २०८१÷०८२ भित्र ल्याइसक्ने प्रतिवद्धता जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here