काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
उनलाई आज (आइतबार) १० बजेपछि अदालतमा उपस्थित गराइएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले नेपाल भ्युजलाई जानकारी दिए । लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ । म्याद सकिएसँगै उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । सो म्याद आज सकिएसँगै अब चौथो पटक म्याद थपको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ । यसैबीच उनी नेतृत्वको दल रास्वपाले आज पनि पोखरामा प्रदर्शन गरेको छ । शनिबार काठमाडौंमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो ।
यही कात्तिक २ गते आफ्ना सभापति लामिछाने पक्राउ परेयता रास्वपा आन्दोनरत छ । राजनीतिक पूर्वाग्रहका आधारमा लामिछानेलाई पक्राउ गरिएको सो दलको आरोप छ ।