भक्तपुरका प्रजापती समुदायको गुनासोः माटोका भाँडा बनाउन माटै पाउन छोड्यो


१३ कार्तिक २०८१, मंगलवार १०:२८ मा प्रकाशित

काठमाडौं । तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायलाई भ्याइनभ्याइ छ । माटोका भाँडा अरु बेला पनि माग आउने गरे पनि तिहारको समयमा भने अन्य समयको तुलनामा बढी माग आउने प्रजापती समुदायको भनाइ छ ।

माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गइरहे पनि भाँडा बनाउने माटो प्राप्त गर्न भने कठिन हुँदै गएको प्रजापती समुदायको भनाइ छ । शुरुमा जता गएपनि माटो खनेर ल्याउन पाइने तर अहिले प्लटिङका कारण माटो पाउन मुस्किल भएको गुनासो प्रजापती समुदायको छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भक्तपुरका गणेशकुमार प्रजापतीले आफूले सानैदेखि माटोको भाँडो बनाउने काम गरेको भन्दै माग राम्रो आएको बताउनु भयो । उहाँले पालाको मूल्य पहिला पनि दुई रुपैयाँ र अहिले पनि सोही मूल्यमा विक्री ग्रिरहेको बताउनु भयो ।

उहाँले विगतको दाँजोमा माग केही घटेको भएपनि माटोका भाँडाको माग अहिले पनि रहेको बताउनु भयो । उहाँले पहिला भक्तपुरकै विभिन्न ठाउँबाट माटो खनेर ल्याउन पाउने भएपनि अहिले साँखु लगायत काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट किनेर ल्याउनुपरेको बताउनु भयो ।

 उहाँले माटोका भाँडा बनाउनका लागि माटो पेल्न, मुस्न, सुक्न र पाक्न समय लाग्ने गरेको बताउनु भयो । माटो एक दिनमै सुक्ने भएपनि सबै काम सक्नका लागि १५ दिनको समय लाग्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘माटो पेल्ने, मुस्ने, सुकाउने, पाक्न समय लाग्छ । सुक्न एक दिनमै सुक्छ । १० देखि १२ दिनको समय लाग्छ ।’ 
पहिला काग तिहार आएपछि बेच्न जानुपर्ने भएपनि अहिले माटोका भाँडा लिन घरमै आउने गरेको बताउनु भयो ।

प्रजापतीकाअनुसार सामानहरु बनाइराख्दा जहिले पनि विक्री गर्न असहज छैन । प्रजापती परिवारले नै गर्ने काम भएकाले कामलाई निरन्तरता दिएको र गुजारा चलिरहेको उहाँको भनाइ छ । माटोका भाँडा बनाउने प्रजापती समुदायलाई अहिले सरकारले माटोको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने लाग्छ । माटो पाउन मुस्किल हुँदै गएपछि आफ्नो पुस्तौंदेखिको पेशा लोप हुने चिन्ता प्रजापती समुदायलाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here