खोकनाका किसानलाई धान भित्र्याउने चटारोः उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाएको गुनासो


१२ कार्तिक २०८१, सोमबार १३:३९ मा प्रकाशित


काठमाडौं ।
तिहार शुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका किसानलाई धानबाली भित्र्याउने चटारो  छन् । मंसिर लाग्न नपाउँदै धानबाली पाकेपछि काठमाडौं, ललितपुर र भक्तपुरका किसान यतिबेला व्यस्त छन् ।

तिहारअघि नै धान बाली भित्र्याउने चटारो उपत्यकाका किसानलाई छ । मौसममा सुधार आएसँगै ललितपुर खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन् । गत असार–साउनमा रोपेको धान समयअगावै पाकेकाले खोकनाका किसानहरु तिहारअघि धान भित्र्याउन व्यस्त भएका हुन् ।

खोकनाका किसानले खेतमा पोखरेली, ताइचिन र मसिनो धानको खेती गरेका छन् । ललितपुर महानगरपालिका भित्र पर्ने खोकनाका अधिकांश मानिसहरु कृषिमा आश्रित छन् । तर काठमाडौँ–निजगढ द्रुतमार्ग लगायत सरकारले आवास क्षेत्र घोषणा गरेसँगै धानखेती कमी हुँदै आएको खोकनाका किसान बताउँछन् ।

सरकारले आवास क्षेत्र घोषणा गरेकाले धान खेती गरेपनि समय बीउ सरकारले दिन छाड्ेको गुनासो गरे । किसानहरुले विकास निर्माणका नाममा उर्वर भूमि मास्न खोजिएकाले भविष्यमा आफ्नै उब्जनीको खान नपाउने अवस्था आएको बताए । विगतका वर्षहरुमा तिहारपछि धानबाली भित्र्याउने गर्दथे । यो वर्ष समयअगावै धान पाकेकाले धान भित्र्याउने चटारो रहेको किसान बताउँछन् । ललितपुर खोकनामा किसान सद्धिचरण डंगोलले विगतको भन्दा उत्पादनमा कमी आएको बताउनु भयो ।

उहाँले विगतमा प्राङ्गरिक मल हुँदा धान बाली राम्रो हुने गरेको तर अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न नसकेको बताउनु भयो । उहाँले खेती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेतीगर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन नसकेको गुनासो गर्नुभयो । 

ललितपुर बुङमतिका किसान रामचन्द्र महर्जनले अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्नु गलत भएको बताउनु भयो । उहाँले अहिले भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको अवस्थामा उत्पादन हुने क्षेत्रलाई आवास क्षेत्र बनाउन नहुने बताउनु भयो । उहाँले अहिले विगतको तुलनामा पछिल्लो समय धान उत्पादनमा कमी रहेको बताउनु भयो । 

ललितपुर बुङमतिका अर्का किसान रामकृष्ण महर्जनले पनि विगतको तुलनामा धान उत्पादन कमी आएको बताउनु भयो । उहाँको रासायनिक मल नपाउँदा धान उत्पादन कमी भएको भनाई थियो । ललितपुर खोकनामा सानु डंगोलले पनि विगतको तुलनामा अहिले रासायनिक मलको मात्रै भर पर्दा धान उत्पादन कमी आएको बताउनु भयो । 


समय अगावै धान पाकेकोले अहिले भक्तपुर,ललितपुर र काठमाडौंका किसानले धानबाली काटिसकेका छन् । दशैँ मनाएसँगै धान भित्र्याउने चटारोले अहिले किसानको दैनिकी खेतमै बित्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here