मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि १ अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँ विनियोजित बजेट सार्वजनिक गरेको छ ।
उक्त बजेट नेपाल सरकारको सशर्त अनुदानका कार्यक्रमहरुलाई स्वीकृत बजेटको परिधिभित्र रहेर सञ्चालन गरिने छ । प्रस्तावित बजेटमा नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान नेपाल सरकारबाट प्राप्त हुने राजस्व वाँडफाट, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, १ नम्बर प्रदेश सरकारबाट प्राप्त हुने राजस्व वाँडफाट, मालपोत रजिष्ट्रेशन, आन्तरिक आय, सामाजिक सुरक्षा अनुदान, समपूरक अनुदान, विशेष अनुदान, नेपाल सरकारबाट हस्तान्तरित कार्यक्रमको सशर्त अनुदान, सडक बोर्ड नेपालबाट प्राप्त हुने अनुदान, सामी परियोजना सञ्चालनका लागि अनुदान, जिल्ला समन्वय समिति झापाबाट क्रमागत योजनामा अनुदान तथा अघिल्लो वर्षबाट ल्याएको रकमलाई आम्दानीतर्फ राखिएको छ ।
नगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख विमल आचार्यले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । नगरपालिकाको चौथो नगरसभा २०७६ असार १० गते प्रारम्भ भएर असार २४ मा सम्पन्न भएको पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले जानकारी गराए । नगरपालिकाको पहिलो, दोस्रो, तेस्रो नगरसभाले नगरपालिकाको क्षेत्रको विकासका लागि महत्वपूर्ण नीति तथा कार्यक्रम अघि बढाएको छ ।
उनले यसवर्ष पनि वडाका कार्यक्रमहरुलाई सम्बोधन गर्ने गरी प्रति वडा १ करोड ३० लाख रुपैयाँका दरले वडास्तरीय बजेट विनियोजन गरिएको जानकारी दिए । बितेका दुई आर्थीक वर्षमा नगर गौरवका महत्वपूर्ण आयोजनाहरुको डिपिआर तयार भएका र यसरी डिपिआर तयार भएका योजना कार्यक्रमलाई सञ्चालन गर्ने गरी आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तावित गरिएको पत्रकार सम्मेलनमा बताईएको छ ।
प्रस्तुत बजेटमा आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न नौ वटा शीर्षकमा अनुमान व्यय हुने बताइएको छ । विषयगत शीर्षकमा नगरस्तरीय २३ करोड ८७ लाख ६० हजार तथा वडास्तरीय १९ करोड ५० लाख गरी कूल ४३ करोड ३७ लाख ६० हजार रुपैयाँ विनियोजन भएको छ ।
नगरका समग्र नगरवासीको आर्थिक विकास, सुशासन र समृद्धिको चाहानालाई परिपूर्ति गर्न एवम् यस नगरलाई व्यवस्थित, सफा, सुन्दर र सबल नगर बनाउन तथा ‘मेचीनगर नेपालको पूर्वीद्वार, कृषि र पर्यटन समृद्धिको मूल आधार’ भत्रे नगर दृष्टिकोण कार्यान्वयन गर्न विभिन्न नीति तथा कार्यक्रमहरु अवलम्बन गरिएको छ । नीति तथा कार्यक्रममा आर्थिक समृद्धि, सुशासन, बाल तथा लैङ्गिक मैत्री एवम् सामाजिक समावेशिता, वातावरण तथा पर्यावरण मैत्री, पर्यटन मैत्री एवम् गरिबी निवारणलाई प्रमुख आधार बनाइएको छ ।
स्थानीय सरकार सञ्चालनको अभ्यास, नगर योजनामा प्राथमिकता, योजना छनौट, नीति तथा कार्यक्रम स्वीकृति, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, लागत सहभागिता सम्बन्धि नीतिलाई यस नगरका प्रमुख नीतिहरुका रुपमा राखिएको छ ।





