काठमाडौं । नेकपा (एमाले) की सांसद पद्मा अर्यालले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियामा वरिष्ठता र योग्यताको स्थापित सिद्धान्त मिचिएको भन्दै प्रश्न उठाउनुभएको छ ।
मङ्गलवार संसदीय सुनुवाई समितिमा प्रश्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका क्रममा धारणा राख्दै उहाँले यस पटकको प्रधानन्यायाधीश नियुक्ति प्रकरण इतिहासमै विवादित बनेको टिप्पणी गर्नुभयो ।
प्रश्तावित प्रधानन्यायाधीश शर्माले प्रश्तुत गर्नुभएको कार्ययोजना र प्रतिवद्धतामाथि केन्द्रित हुँदै सांसद अर्यालले चारवटा मुख्य बुँदामा स्पष्टीकरण माग गर्नुभएको छ । उहाँले वरीयता क्रममा चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिनुले न्याय क्षेत्रमा गलत नजिर बस्ने आशंका व्यक्त गर्नुभयो ।
उहाँले अन्य तीन वरिष्ठ न्यायाधीशहरू भन्दा डा. शर्मामा कुन विशेष योग्यता र विशेषता छ भन्दै त्यसलाई पुष्टि गर्न चुनौती समेत दिनुभयो । न्याय र कानुनको विकासमा अरूभन्दा उत्कृष्ट योगदान पु¥याएको आधार के हो भनी उहाँले स्पष्टीकरण माग गर्नुभयो । कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो ।
सांसद अर्यालले न्यायमा पहुँचको विषयलाई लिएर पनि डा. शर्माको विगतको कार्यक्षमतामाथि प्रश्न उठाउनु भयो । लामो समय ‘न्यायमा पहुँच आयोग’ को नेतृत्व सम्हाल्दा पनि नतिजा कमजोर रहेको उल्लेख गर्दै उहाँले अबको ६ वर्षे कार्यकालमा अदालतलाई सर्वसाधारणका लागि सुलभ र सस्तो बनाउने ठोस आधार के छ भनी जिज्ञासा राख्नुभयो ।
प्रश्तावित प्रधानन्यायाधीश विरुद्ध परेका उजुरीहरू र बाहिर चर्चामा रहेका विषयहरूलाई आधार मानी आफूले यी प्रश्नहरू उठाएको सांसद अर्यालको भनाइ छ ।






