अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य मंगलबार देखि पुनः सुरु


८ श्रावण २०७६, बुधबार १७:०६ मा प्रकाशित

चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य मंगलबार देखि पुनः सुरु भएको छ ।

रंगशाला निर्माणको लागी डीपीआर बनाउने र वातावरणीय प्रभाव मूल्यांकन ईआईए तथा ग्राउण्ड निर्माणको काम भइरहेको समयमा सतारुढ दलका निलम्बित कार्यकर्ताद्वय प्रकाश कंडेल र भैरव बास्ताकोटीको नेतृत्वमा आएका केही अराजक समूहहरुले पश्चिमतर्फको सडक बाटो विस्तारका विषयलाई लिएर रगंशाला सुरक्षाका लागी लगाइएको तारबार डोजर लगाएर भत्काइदिएपछि गएको जेठ १५ गतेदेखि स्थगित हुन पुगेको निर्माणको काम झन्डै दुई महिनापछि मंगलबारदेखि सुरु गरिएको हो ।

ठूलो लगानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको रगंशाला निर्माण सम्पन्न गर्न जनस्तरबाट सहयोग जुटाउन लागिपरेको फाउण्डेशनले देश विदेशबाट सहयोग जुटाउँदै आएको थियो । तर, बार भत्काएको घटनापछि यहाँको माहोल बिग्रिन गएपछि चितवनका राजनैतिक दल, जिल्ला समन्वय समिति, भरतपुर महानगरपालिका र स्थानीय सरकारबीच बसेको बैठकले फाउण्डेशनलाई काममा फर्कन आग्रह गरेका थिए ।

पछिल्लो पटक गएको असार ४ गते जिल्ला समन्वय समिती चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी र भरतपुर महानगरपलिका प्रमुख रेणु दाहालले असार ४ गते सयुंक्त विज्ञप्ती नै जारी गरेर फाउण्डेशनलाई काममा फर्कन अपिल गरेकी थिइन् । त्यसलगतै फाउण्डेशनले विज्ञप्ती नै निकालेर काममा फर्कने बताएको थियो । सरोकारवाला निकायको प्रतिबद्धता र रोहवरपछि फाउन्डेसन काममा फर्किएका हुन् ।

रंगशाला निर्माणका मजदुरहरु पनि हिजोबाट नै काममा खटिसकेका छन् । बन्द रहेको फाउण्डेशनको साइट कार्यालयहरु पनि खोलिएको छ । मंगलबार बिहानबाट रंगशालाको फिल्ड कार्यालय खोलिएको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष एवं कलाकार सिताराम कट्टेलले फिल्डमा गर्न मिल्ने सबै काम सुरु गरिएको जानकारी दिए ।

यता, रंगशाला निर्माणको काम गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रगंशालाको निर्माणको काम सुरु गरेको छ । सीताराम कट्टेल (धुर्मस)ले बिहान झरीमा रुजेरै रंगशाला निर्माणको काम थालेका हुन् । रंगशाला निर्माणमा खटिएका अध्यक्ष धुर्मसले बेल्चा, गल र रड बोकेर रंगशाला निर्माणको काम अघि बढाएको सन्देश दिए । उनीलाई चितवन क्षेत्र नं २ ‘ख’ का प्रदेश सभाका सांसद विजय सुवेदीले साथ दिएका थिए । फाउण्डेशन का निर्माण सम्बद्ध कर्मचारीहरु यहि कार्यालयमा बसेर थप कामलाई अघि बढाउने फाण्डेशनका अध्यक्ष कट्टेलले बताए । निर्माणमा खटिने थप कामदारहरु मंगलवार साँझसम्म साइटमा आइपुगिसकेको उनको भनाइ छ ।

यस्तै, नेकपाका तीन नम्बर प्रदेशका सांसद बिजय सुवेदीले चितवनको गौरवको आयोजनाका रूपमा लिइएको क्रीकेट रंगशालामा गएको जेठ १५ गते नहुनु पर्ने घट्ना भएको र त्यो घट्ना अहिले साम्य भइसकेकोले अब सबै एकैसाथ मिलेर अघि बढ्नुपर्ने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको २० विघा जमिनमा फाउण्डेशनले ३ अर्ब रुपैयाँ संकलन गरेर अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन लागेको हो । २०७५ माघ १६ गते काठमाण्डौँमा प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरपालिका र धुर्मुस सुन्तलीफाउण्डेशनको बीचमा रंगशाला बनाउने विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

२५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्ने लक्ष रहेको छ । विश्वस्तरीय प्यारापिटमा बसेर खेल हेर्न सकिने यो रंगशालामा चारवटा ढोका हुनेछन् । १३५ मिटर ब्यासमा बन्ने रंगशालामा देश विदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लबिको व्यवस्था हुनेछ ।

अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने यो रंगशाला आफ्नैपन झल्कने नेपाली जनताको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रंगशाला हुनेछ । रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिंङलगायतको खेल खेल्न सकिने संरचना पनि बन्ने लक्ष राखिएको छ । रंगशाला निर्माणस्थलको सुरक्षाका लागी अहिले प्रहरी नायव निरीक्षक नारायण श्रेष्ठको नेतृत्वमा त्यहाँ ६ जना प्रहरीलाई २४ सै घण्टा खट्ने गरि परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here