शिल्पा र छविविरुद्ध बहुविवाहमा पक्राउ पुर्जी जारी


८ श्रावण २०७६, बुधबार १६:१२ मा प्रकाशित

काठमाडौं । अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । अब प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाउने काठमाडौँ प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी गराए ।छविकी जेठी श्रीमतीले बहुविवाहको मुद्धा दर्ता गराएकी हुन् । छविकी चौथो पत्नी हुन् शिल्पा । तीन वर्षअघिदेखि सँगै रहेका छवि र शिल्पाले केही महिना अघि विवाह दर्ता गरेका थिए ।

केही साता अघि आफूलाई छविले घरेलु हिंसा गरेको भन्दै शिल्पा प्रहरीमा उजुरी गर्न पुगेपछि यो जोडी विवादमा आएको थियो । प्रहरीमा मिलापत्र भएपनि शिल्पाले सम्बन्ध विच्छेदको प्रकृया बढाएकी थिइन् । छवि र हेमाको ३५ वर्षअघि विवाह भएको थियो । श्रीमानसँग अंश लिएपनि संयुक्त परिवारमा बस्दै आएको सम्बन्ध विच्छेद नभएको हेमाको दावी छ । हेमाबाट अलग्गै बस्न थालेका छविले त्यसपछि तीन जनासँग विवाह गरे, सबै चलचित्रकर्मी हुन् । दोस्रो विवाह गितान्जली सुनुवारसँग भएको थियो । सुनुवारले आत्महत्या गरेकी थिइन् । गितान्जलीतर्फ एक छोरा छन् ।

गितान्जलीको निधनपछि छवि नायिका रेखा थापासँग नजिकिएका थिए । थापासँगको सम्बन्ध १२ वर्षसम्म चलेर थप अगाडि बढ्न सकेको थिएन । हेमाले रेखा र गितान्जलीसँगका सम्बन्धबारे आफुसँग कानुनी प्रमाण नभएकाले त्यतिबेला बहुविवाहको उजुरी लिएर जान नसकेको बताएकी छिन् । छवि–शिल्पा तनावपछि हेमा धरानबाट एकाएक काठमाडौं आएर कानुनी लडाइँ सुरु गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here