Sunday, 22 November 2026
Suryodaya Online
६ मंसिर २०८३, आइतबार
विज्ञापन

प्रधानमन्त्री बालेनको भारत भ्रमण आजदेखि, मोदीसँग द्विपक्षीय वार्ता हुने

Suryodaya Online TV

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणमा व्यापार, ऊर्जा, लगानी र पूर्वाधार विकास मुख्य एजेन्डा रहने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार हुने द्विपक्षीय वार्तामा नेपाल–भारत आर्थिक सहकार्य र आपसी सम्बन्धका विविध विषयमा छलफल हुने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्दैछन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत सहभागी हुनेछन् ।

भ्रमणका क्रममा व्यापार तथा पारवहन सहज बनाउने, लगानी प्रवर्द्धन, ऊर्जा सहकार्य, सम्पर्क सञ्जाल विस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिनेछ । दुवै देशबीच सम्पन्न केही परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने तयारी छ ।

भारत भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको कार्यक्रम पनि आयोजना हुनेछ । प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर, सरकारले लिएका नीतिगत पहल तथा लगानीमैत्री वातावरण निर्माणका प्रयासबारे जानकारी गराउनेछन् । कार्यक्रममा भारतीय व्यवसायीका चासो र सुझावसमेत सुन्ने तथा नेपाली र भारतीय व्यवसायीबीच साझेदारी विस्तार गर्ने लक्ष्य राखिएको छ ।

प्रधानमन्त्री शाहले आज भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन् । सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता, सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनपछि राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्ने कार्यक्रम छ । सोमबार अपराह्न प्रधानमन्त्री शाह स्वदेश फर्कनेछन् ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private