हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँः पर्यटनमन्त्री पाण्डे


२० आश्विन २०८१, आईतवार १०:४९ मा प्रकाशित


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।


उहाँले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रीकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने भएकाले विमानको टिकट महंगो हुने गरेको बताउनु भयो ।

उहाँले यात्रुहरु शहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महंगो भएको बताउनु भयो । सरकारले महंगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि बताउनु भयो । यस पटक धेरै टिकटहरु पहिला नै विक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको बताउनु भयो ।

उहाँले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको बताउनु भयो । त्यसका लागि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरुसँग धेरै भन्दा धेरै उडान गर्न आग्रह गरेको पनि बताउनु भयो । रात्रीकालीन सेवामा अवतरणपछि गन्तव्यस्थलमा पुग्नका लागि पनि विमानस्थल क्षेत्रका यातायात व्यवसायीहरुसँग समन्वय गरे बढी भाडा नलिकनै यात्रुहरुलाई घरसम्म पुग्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको बताउनु भयो ।  यात्रा सहज बनाइ यात्रुलाई सुविधा दिनका लागि थप प्रभावकारी ढंगले काम गरिरहेको बताउनु भयो । 


मन्त्री पाण्डेले फ्लाइटको संख्या बढेपछि स्वभाविक रुपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको बताउनु भयो । यात्रुको चापअनुसार उडान बढाइदिन पनि एयरलाइन्सहरुसँग आग्रह गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here