जनकपुरधाम । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएर सर्वसाधारणसँग रकम असुली गर्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट लाइसेन्स बनाएर ल्याइदिएको भन्दै गाउँका युवकहरुसँग रकम ठगी गर्ने दुई जनालाई जिल्लाको हंसपुर नगरपालिकाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा हंसपुर नगरपालिका–६ का ३४ वर्षीय अलीअकबर मन्सुरी र औरही गाउँपालिका–६ बस्ने २४ वर्षीय सञ्जान मन्सुरी छन् । नक्कली सवारीसाधन चालक अनुमति पत्र बनाइदिएर गाउँका युवकहरुसँग रकम लिइरहेको सूचनाको आधारमा उनीहरुलाई हंसपुर नगरपालिका ९ स्थित बालगंगा चोकबाट इलाका प्रहरी कार्यालय औरहीको टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ५÷५ थान सवारी चालक अनुमति पत्र बरामद भएको छ । दुबैविरुद्व सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।





