अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने


१८ आश्विन २०८१, शुक्रबार १६:५१ मा प्रकाशित


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।


शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले सडक सञ्जाल विच्छेद भएका कारण विपी राजमार्गमा सयौँ सवारी साधनहरु फसेर बसेका र सवारी साधनका चालक र सहचालकहरु समेत अलपत्र परेका भन्दै सरकारले उनीहरुको उद्धारका लागि काम गरिरहेको बताउनु भयो । उहाँले विपी राजमार्ग दशैँ अगाडी खुलाउन नसकिने निस्कर्ष सरकारको रहेको स्पष्ट पार्नुभयो ।

उहाँले देशभरको विपद्मा परेका नागरिकहरुको उद्धारमा सरकार लागिरहेको बताउनु भयो । सडक विभागले नेपाली सेनाको तरिकामा काम गरिरहेको भन्दै उहाँले विदाको बेलामा पनि विभागका कर्मचारीहरु विभिन्न उपकरणहरु लिएर काम गरिरहेका जानकारी दिनुभयो । 


बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशवकुमार शर्माले अवरुद्ध राजमार्गहरु खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले अवरुद्ध रहेका पाँच राजमार्गहरुमध्ये अरनिको राजमार्ग अन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्यपहाडी राजमार्ग अन्तर्गतको दोलालघाट–राकथुम खण्ड, कान्ति राजपथ अन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्ग अन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकोले आईतवारसम्म पूर्णरुपमा खुल्ने बताउनु भयो । 


उहाँले पनि सरोकारवाला निकायका कर्मचारीहरु अहोरात्र खटिरहेका बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here