नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडसः दैनिक तीन सयलाई खाना खुवाउँछन्


१८ आश्विन २०८१, शुक्रबार १६:४२ मा प्रकाशित

काठमाडौं । असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ । कतिपयको बासस्थान नै बगाएको/डुबानमा परेको छ । जसरकारण पनि आम नागरिकहरुको जनजीवन प्रभावित छ ।

काठमाडौं उपत्यकामा वागमती, हनुमन्ते खोला, ललितपुरको नख्खु खोलाले बगाएर धेरै मानिसहरुको ज्यान गएको छ । नख्खु खोलाले घरवास बगाएर पीडित नागरिकहरु अहिले पनि खान र बस्नका लागि भौँतारिरहेका छन् । गाँसवासको टुंगो नहुँदा स्थानीहरु मिलेर उनीहरुलाई खान र बस्नको व्यवस्था गरिरहेका छन् ।

गत आईतवारदेखि ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित नख्खु खोला आसपासका पीडितहरुलाई स्थानीहरु मिलेर दुई छाक नै खाना खुवाइरहेको २५ नम्बर वडाका वडाध्यक्ष दौलतकुमार खत्री बताउनु हुन्छ । उहाँले सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट वडामा आइ सहयोग गरिरहनुभएको र सोही सहयोगबाट पीडितहरुलाई खाने र बस्ने स्थानको व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले २५ नम्बर वडामा २५० जनाको गाँसवास बाढीका कारण खोसिएको बताउनु भयो । उहाँले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले पनि समन्वयपूर्ण काम गरे सहज हुने विश्वास व्यक्त गर्नुभयो । बाढीले घरहरु बगाएसँगै सरकारले दिएको राहत राख्ने ठाउँ नै नभएपछि पनि समस्याहरु सिर्जना भइरहेको बताउनु भयो ।

 
ललितपुर महानगरपालिका २५ नम्बर वडाकी महिला सदस्य सपना ठकुरीले स्थानीयहरु मिलेर पीडितलाई खाना खुवाइरहेको बताउनु भयो । उहाँले दैनिक तीन सय जति मानिसहरुलाई खाना खुवाएको बताउनु भयो । पीडितलाई खाना खुवाउन विभिन्न संस्थाहरुले सहयोग गर्नुभएको र बस्नका लागि सरकारी भवन, बालकुमारी मन्दिर लगायतमा राख्ने गरिएको बताउनु भयो । 


नेपाली काँग्रेस ललितपुर महानगरपालिका वडा नम्बर २५ का सभापति रविचन्द्र ठकुरीले महानगरपालिकाले पीडितको राहत र उद्धारमा राम्रो काम गरिरहेको बताउनु भयो । उहाँले अहिले पनि बिस्थापितहरुलाई बस्न र खानको व्यवस्था स्थानीय मिलेर गरेको बताउनु भयो । 


गत असोज १२ र १३ गतेको अविरल वर्षाका कारण देशभर नै ठूलो जनधनको क्षति भएको छ । हजारौँ मानिसहरु बिस्थापित भएका छन् । अझै पनि मनसुन सफा भइसकेको छैन । त्यसैले विज्ञहरुले शतर्कता अपनाउन सुझाव दिइरहेका छन् ।

साथै चिकित्सकहरुले विपद्पछि स्वास्थ्यमा पनि ठूलो समस्या आउनसक्ने भन्दै पानी सफा खान र तताएर मात्रै प्रयोग गर्न आग्रह गरेका छन् । सरकारले पनि आवश्यक सावधानी अपनाएर यात्रा गर्न, स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here